2026 April 23/ 01:39: 59am

बनेपा/बनेपा नगरपालिका वडा नम्वर ७ र ११ का स्थानीयहरुले एकता बस्ति टोल, ओम शान्ति टोल र धनेश्वर नयाँबस्ति टोलको तर्फबाट प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेका छन् । 
लामो समय उक्त क्षेत्रमा जग्गाको ब्यस्थापन हुन नसकेको, स्मार्ट सिटी निर्माण गर्ने चरणमा घरहरु जथाभावी बनाउन रोकेको भए पनि केहि वर्ष देखि उक्त क्षेत्रमा धमाधम घरहरु निर्माण हुन थालेका छन् । घरहरु निर्माण हुँदा कायम हुनु पर्ने सार्वजनिक जग्गाको क्षेत्रत्रफल, खोला र सडकको सिमाकंन, ढल तथा अन्य पूर्वाधारको ब्यवस्थापनका लागि वडा अध्यक्ष वर्ण शाक्य, प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई लगायतको ध्यानाकर्षण गराउन उत्त भेटघाट गरिएको कार्यक्रमका अध्यक्ष धनबहादुर तामाङले बताउनु भयो । कार्यक्रममा टोलका तर्फबाट ७ बुँदे ध्यानाकर्षण पत्र प्रस्तुत गरिएको थियो । राजेन्द्र बस्नेतले स्थानीयहरुको तर्फबाट घट्टेखोला राजकुलो करिडोर निर्माण र खोला ब्यवस्थापन, धनेश्वर गेटदेखि घट्टेखोलासम्म बाटो ढलान, ओमशान्ति टोल बाटो पिच, आर्दश मार्ग देखि धनेश्वर नयाँबस्तिसम्मको बाटो निर्माण, एविएम स्कुल देखि आर्दश मार्ग देखि घट्टेखोलासम्म बाटो निर्माण, टोल र बस्ती ब्यवस्थापनका लागि खानेपानी ढल, विद्युत्त जस्ता पूर्वाधार निर्माण र सार्वजनिक जग्गाको सिमांकन गर्ने कामलाई प्राथमिकतामा राख्न जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराईएको छ । उक्त क्षेत्रमा विभिन्न क्षेत्रबाट आएर बसोबास गर्नेहरुको संख्या धेरै छ । ६ सय जनसंख्या रहेको उक्त क्षेत्रमा झण्डै ७० घर निर्माण भईसकेका छन् । झण्डै एक हजार परिवार बस्न मिल्ने गरी जग्गाको ब्यवस्थापन हुँदा त्यहाँको पूर्वाधार निर्माणमा ध्यान दिन जनप्रतिनिधिहरुलाई स्थानीयहरुले आग्रह गरेका हुन् । एविएम स्कुलका प्रिन्सिपल रामप्रसाद तिमल्सिना, रिमा भण्डारी, गुणनीधि सापकोटा, सकुन्द अधिकारी लगायतले स्थानीय क्षेत्रको समस्याका बारेमा अवगत गराएका थिए । 
प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले आफ्नो क्षमताले भ्याएसम्म उक्त क्षेत्रलाई समेट्ने बताउनु भयो । विकास निर्माणका हिसावले निर्वाचन क्षेत्रमा पर्ने ३० वटा वडा, २ सय वटा टोललाई समेटने गरी कार्य गरिरहेको उहाँले बताउनु भयो । अन्तराष्ट्रिय कला केन्द्र, पार्कहरुको निर्माण, हिलेजलजले क्षेत्रको ड्याम निर्माण, सडक लगायतका कार्य भईरहेको हुमागाईले बताउनु भयो । वडा अध्यक्ष वर्ण शाक्यले २०३८ सालमा घट्ट चल्ने खोला बन्द भए पनि त्यसको सिमाना कायम गर्ने, पूर्वाधारको कार्यमा स्थानीयहरुको उत्त्साहपूर्ण सहभागितामा आफ्नो साथ रहने बताउनु भयो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, रेडक्रस काभ्रेका पुर्व सभापति रघुवर चौ प्रधान लगायतले उक्त क्षेत्रको समस्यामा सबैले समाधानका लागि साथ दिनु पर्ने बताउनु भयो ।