पाँचखाल/काठमाडौ विश्वविद्यालयले पाँचखाल नगरपालिका वडा नम्वर २ अनेकोटमा निर्माण गर्न लागेको कृषि विद्यालयका बारेमा नागरिकहरुलाई जानकारी गराउँदै सार्वजनिक सुनुवाई आयोजना गरेको छ ।
काठमाडौ विश्वविद्यालयको स्कुल ओफ फरेस्ट्री तथा एग्रिकल्चरका बारेमा वातारणीय प्रभाव मुल्यांकन सम्वन्धी अध्ययन प्रतिवेदनका बारेमा समेत जानकारी गराईएको छ । उक्त विद्यालयका लागि पाँचखाल २ अनेकोटमा २५.४४ हेक्टर क्षेत्रफल अर्थात ५ सय रोपनी जमिन उपलब्ध गराईएको छ । विश्वविद्यालय अन्तर्गतको उक्त विद्यालय स्थापनासँगै ५ हजार ब्यक्तिहरुले रोजगारको अवसर पाउनेछन् । स्कुलले एग्रिकल्चर तथा फरेस्ट्रीमा चाहिने जनशक्ति मार्फत अनुसन्धान, विकास तथा आधुनिक क्रियाकलापको विकास गर्ने परियोजनाको उदेश्य छ । विद्यालय संचालनमा आए पछि ३ सय १० जना विद्यार्थी र कर्मचारी हुनेछन् । परियोजना संचालन भए पछि ९ सय ३४ वटा रुख कटानी हुनेछ । उक्त विद्यालयमा नेपाली तथा विदेशी विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा स्तर बृद्धी हुनुका साथै स्थानीय ब्यक्तिलाई रोजगारीको अवसर तथा सिप तालिमको अवसर सिर्जना हुने काठमाडौ विश्वविद्यालयका रजिस्टार प्राध्यापक डा. सुवोध शर्माले बताउनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त विद्यालय स्थापना गर्दा प्रभाव पार्ने आर्थिक, सामाजिक तथा सांस्कृतिक वातावरणका बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा नगर प्रमुख महेश खरेलले पाँचखाल नगर, कृषि नगर भएकाले त्यसको उदेश्य अनुरुपको विद्यालय स्थापना गर्न लागेकोमा विश्वविद्यालयलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो । पाँचखालका स्थापना हुन लागेको मदन भण्डारी विश्वविद्यालय, कृषि विश्वविद्यालय, दुईवटा चक्रपथ, बृहत्त खानेपानी लगायतका महत्वपूर्ण आयोजनाहरु संचालन भईरहेको नगर प्रमुख महेश खरेलले बताउनु भयो । काठमाडौ विश्वविद्यालयका रजिस्टार डा.सुवोध शर्माले विश्वविद्यालयले नगर, जिल्ला र राष्ट्रकै विकासमा योगदान पु¥याएको बताउनु भएको थियो । पाँचखालको सुनौलो भविश्य कोर्न कृषि विद्यालय महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख लक्ष्मी दनुवार, प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर भण्डारी, वडा नम्वर २ का अध्यक्ष हरि खतिवडा, वडा नम्वर ७ का अध्यक्ष पुष्कर ढकालले कृषिमा आधुनिकीकरण गर्दै उत्पादनमा बृद्धी र आर्थिक समृद्धमा विद्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । कार्यक्रममा नागरिकहरु दिपक दाहाल, रामप्रसाद पौड्याल, बासुदेव कोईराला, राजाराज मिश्र, जयराम अधिकारी लगायतले विद्यालयका बारेमा चासो ब्यक्त गर्नु भएको थियो । वडा नम्वर २ मा विद्यालय बनाउन सहज वातावरण तयार गर्न वडा अध्यक्ष हरिराम खतिवडाले प्रतिवद्धता ब्यक्त गर्नु भयो ।





