४१.२७ प्रतिशतले मुनाफामा बृद्धि
धुलिखेल/राष्ट्रिय बाणिज्य बैंक धुलिखेल शाखाले आर्थिक वर्ष २०७६/०७७ मा कोरोना भाईरसका बाबजुत ऋण लगानी र निक्षेपमा बृद्धि गरी मुनाफा बढाएको छ । स्थानीय तहमा बैंकहरुको सेवा विस्तार भई ग्राहकहरुको संख्या कम हुँदै गए पनि बैंकले लगानी, असुली र कारोवारलाई तिब्र पारेको छ ।
राष्ट्रिय बाणिज्य बंैक धुलिखेल शाखाका प्रबन्धक विनोदप्रसाद सापकोटाका अनुसार गत आर्थिक वर्षमा बंैकले कर्जा लगानीमा २५ प्रतिशतले बृद्धि गरेको छ । ‘लगानीसँगै असुली दर पनि बढेको छ’–शाखा प्रबन्धक सापकोटाले भन्नुभयो–‘खराब कर्जामा उल्लेखनीय असुली भई ०.६६ प्रतिशतले कमी भएको छ ।’ लगानी बढ्दा बैंकले आर्थिक वर्ष भित्र ४१.२७ प्रतिशतले मुनाफा हासिल गरेको छ । कोरोना भाईरसका बाबजुत पनि बैंकले सेवा प्रदान गरेको थियो । सदरमुकाम धुलिखेलमा रहेको उक्त बैंकमा सरकारी र ब्यक्तिगत खाताहरु धेरै छन् । स्थानीय तहहरुमा बैंक गए सँगै त्यहि रहेका बैंकहरुबाट कारोबार हुने गरे पनि दुर्गम स्थानका बैंकहरुमा धेरै रकम नहुने भएकाले बाणिज्य बैंकबाटै कारोवार गरिरहेका छन् । सञ्चित धन एकै पटक धेरै भुक्तान गर्न नसक्ने भएकाले बाणिज्य बैंकमा रहेका खाताहरुलाई कृयाशिल बनाईरहेका छन् ।
राष्ट्रिय बाणिज्य बैंक धुलिखेल शाखाले मालपोत कार्यालय काभ्रेमा बैंक काउन्टर संचालन गरेको छ । २०७६ फागुन १ गतेबाट कारोवार शुरु गरेको बैंकले नियमित सेवा उपलब्ध गराउँदा सेवाग्रहीहरुलाई सुविधा हुनुका साथै मालपोत कार्यालयमा हुने अनियमितता कम गराएको छ । ‘ग्राहकको चाहना र समयको माग अनुसार आधुनिक स्मार्ट बैंकको अवधारणा अनुसार काम गरिरहेका छौं’–प्रवन्धक विनोदप्रसाद सापकोटाले भन्नुभयो–‘सामाजिक उत्तरदायित्व बहन गर्दै आवास, ब्यापार, हायर पर्चेज, ब्यक्तिगत, विपन्न लगायतका शिर्षकमा कर्जा लगानी गरी सरकारी निर्देशन तथा नियामक निकायको निर्देशन अनुसारका क्षेत्रमा सहुलियतपूर्ण कर्जा लगानी गरेका छौं ।’ जसका कारण जिल्लाका कम आय स्तर भएका, पिछडिएको क्षेत्रका ब्यक्तिहरुको सहज पहँुच पुगेको छ । थोरै कर्मचारीका हुँदा समेत चुस्त ब्यवस्थापनका कारण बैंकले ग्राहकहरुको चाहना बमोजिम सेवा प्रदान गर्न सकेको प्रवन्धक सापकोटाले बताउनु भयो ।
बैंकको धुलिखेल शाखाले २०३२ साल चैत्र १ गते देखि बैंकमा रहेका जलाउन मिल्ने प्रकृतिका ७ हजार किलो कागजात नष्ट गरेको छ । नष्ट गर्न नमिल्ने कागजातलाई नयाँ कार्यालयमा ब्यवस्थित र सुरक्षित बनाएको छ । ‘कानुनले तोकेका महत्वपूर्ण नष्ट गर्न नमिल्ने कागजातहरुलाई सुरक्षित र ब्यवस्थित बनाएका छौं’– शाखा प्रबन्धक विनोदप्रसाद सापकोटाले भन्नुभयो–‘२०७६ फागुन अन्तिम साताबाट नयाँ कार्यालयबाट सेवा प्रदान गर्न अघि २०३२ साल देखि थन्किएका जलाउन मिल्ने कागजातहरु नष्ट गरिएको छ ।’ बैंकमा प्रकृति अनुसारका कागजातहरु ३ वर्ष, ५ वर्ष र १० वर्ष पुरानो भए पछि नष्ट गर्न सकिने ब्यवस्था छ भने केहि कागजातहरु कहिल्यै नष्ट गर्न मिल्दैन ।





