2026 April 23/ 12:01: 12am

काभ्रे/नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा उहाँको तस्बिरमा माल्यार्पण गरिएको छ । 
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वबियु काभ्रेको आयोजनामा नेकपाको पार्टी कार्यालयमा पुष्पलालको तस्बिरमा माल्यार्पण गरिएको थियो । कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता, बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता कमरेड पुष्पलाल प्रति हार्दिक श्रदासुमन अर्पण गरिएको थियो । 
पुष्पलालको अगुवाईमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नु अगाडि पनि नेपालमा कम्युनिस्ट नेता र कार्यकर्ता थिए । तर, कम्युनिष्ट आन्दोलनको ब्यवस्थित राजनीतिक र सांगठनिक आकार थिएन । कमरेड पुष्पलालकै अगुवाईमा कम्युनिस्ट आन्दोलनको संस्थागत थालनी, समाजको तत्कालीन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र संगठनको स्थापनामा भयो । विचारका हिसावले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नुपर्ने के हो र कसरी अगाडि बढ्ने भन्ने व्यवस्थित वैचारिक मार्गदर्शन अघि सार्दै पुष्पलालले सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाउनु भयो । साथसाथै पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाउनु भएको थियो । 
पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक सम्पूर्ण रुपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गर्नु भयो । नेपाली राजनीतिमा पुष्पलालको पहिलो योगदान हो । उहाँले विचारलाई विचारको रुपमा मात्रै होइन, व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भनेर संगठन निर्माण गर्नुभयो । बाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन सक्दैन, चाहे ती जुनसुकै राजनीतिक धारका भएपनि सामाजिक ब्यक्तित्व भएको कार्यक्रममा बताईएको थियो । 
कार्यक्रममा नेपाल नगरपालिका सघंका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जु, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, धुलिखेल नगरपालिका उप प्रमुख विमला शर्मा, जिल्ला कमिटी सदस्यहरु, पार्टीका कार्यकर्ता, शुभचिन्तक, अनेरास्ववियु केन्द्रिय सचिबालय सदस्य तथा नेकपा जिल्ला कमिटी सदस्य जेनिस लामा, युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष विक्रम चौलागाई, अनेरास्ववियु जिल्ला अध्यक्ष उपेन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो ।