नाला/नाला फुटबल क्लबको आयोजनामा बनेपा नगरपालिका वडा नम्बर १, २, ३ र ४ नम्बर वडा समेट्ने गरी वडा नम्बर ४ नालामा फिटनेस केन्द्रको स्थापना गरिएको छ ।
उक्त फिटनेसको बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ । नगरपालिकाले पूर्वाधार निर्माण मात्र नभई सामाजिक, आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा समेत विकास गर्दै लगेको बादेले बताउनु भयो । नगरपालिकाको र वडाको आर्थिक सहयोगमा स्थापना गरिएको फिटनेसमा सम्पूर्ण युवालाई सहभागी गराउन अनुरोध गराउनु भयो । मानिसहरुको ब्यस्तता सँगै शारिरीक कसरत र खेलकुदको समेत आवश्यक रहेकाले नाला क्लबले ल्याएको योजनामा नगरपालिका र वडाले सहयोग गरेको बताउनु भयो । मानिसको सम्पत्ति भनेकै स्वास्थ्य भएकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी नगरपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को बजेटमा समेत खेलकुद, शिक्षा कृषि र भौतिक पुर्वाधारलाई समेटिएको बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, १० औं विश्व फिटनेस विजेता महेश्वर महर्जन स्थानियवासी लगायतको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष श्रीराम श्रेष्ठले शारिरीक ब्यायाम सम्बन्धि सम्पूर्ण खेल सामाग्री रहेको तथा बाँकी क्रमशः थप्दै जाने बताउनु भयो । कार्यक्रम क्लबका अध्यक्ष श्रीराम श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन सन्ध्या श्रेष्ठले गर्नुभएको थियो ।





