2026 April 23/ 12:01: 26am

बनेपा/नेपाल उद्योग बाणिज्य संघको आगामी साउन २६ र २७ गते हुने निर्वाचनमा केन्द्रीय सदस्य पदमा जिल्ला÷नगर तर्फबाट काभ्रेका उद्योगी ब्यवसायी सुरकृष्ण बैद्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । बैद्य यसअघि पनि केन्द्रिय सदस्य हुनुहुन्थ्यो । 
काभ्रे उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाका पूर्व अध्यक्ष समेत रहेका बैद्यले पुनः केन्द्रिय सदस्य पदका लागि बरिष्ठ उपाध्यक्ष पदका चन्द्र ढकाल समुहबाट उम्मेदवारी घोषणा गर्नु भएको हो । ‘तीन वर्ष यो कार्यकालमा महासंघ विधान संशोधनको एजेण्डामै रुमलियो, थप कार्य गर्न सम्भव भएन’–केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले भन्नुभयो–‘समृद्ध देश निर्माणका लागि ढकाल समुहको एजेण्डा कार्यान्वयनका लागि प्यानल नै विजयी हुनु आवश्यक छ ।’ ७ सय ५३ वटै स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारसँगको समन्वयमा उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने उदेश्य रहेको छ । त्यसका लागि ढकाल समुह सक्षम रहेको बैद्यले बताउनु भयो । 
उम्मेदवारी घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लाका गौरवका आयोजनाहरुको निरन्तरतामा नीजि क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै सुखी नेपाली समृद्ध नेपाल निर्माण कार्यमा बैद्यको उम्मेदवारीले थप सहजता हुने बताउनु भयो । काभ्रे उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दियेशरत्न शाक्यले जिल्लाको गौरवका लागि बैद्य सहितको प्यानलको विजयी आवश्यक रहेको बताउनु भयो । लकडाउनले शिथिल बनेको उद्योग क्षेत्रको विकास र विस्तारका लागि चन्द्र ढकाल समुहको चुनावी घोषणा पत्र महत्वपूर्ण भएको उहाँले बताउनु भयो । कार्यक्रममा धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोँजुले आर्थिक हबका रुपमा मुलुकको विकासका लागि ढकाल समुहको प्यानल सहित बैद्यले केन्द्रिय सदस्यमा विजयी हुनु पर्ने मत ब्यक्त गर्नु भयो । 
कार्यक्रममा जिल्ला अध्यक्ष प्रकाश मानन्धरले उद्योगी ब्यवसायीहरुको हक हितका लागि ढकाल समुहलाई समर्थन गर्ने संस्थागत निर्णय भएको बताउनु भयो । बैद्य डाईनामिक नेतृत्व भएकाले ब्यवसायीहरुको हक हितका लागि उहाँको विजय आवश्यक रहेकाले तन,मन देखि उहाँलाई सहयोग गर्न आब्हान गर्नु भयो । बरिष्ठ उपाध्यक्ष प्रताप बैद्य, महासचिव कैलाश पलाञ्चोके, कोषाध्यक्ष ग्रुवेन तौजले लगायतले उद्योगी ब्यवसायीहरुको एकता आवश्यक रहेको बताउँर्दै मुलुक समृद्ध बनाउन ढकाल समुहले अघि सारेका घोषणापत्रको विजय हुनुपर्ने बताए । वर्तमान कार्यसमितको कार्यकारी सदस्य रहेका बैद्यले नेपाल सरकारले औद्योगिक क्षेत्र खोल्नुपर्ने बताउनुभयो । उहाँले उद्योगीले नै जग्गा खरिद गरेर उद्योग सञ्चालन गर्न नसक्ने भएकाले सरकारले औद्योगिक क्षेत्र तोकेर त्यहाँ भौतिक संरचना बनाएर दिनुपर्ने नयाँ नेतृत्वको मुख्य मुद्दा भएको बताउनुभयो ।