2026 April 22/ 11:59: 59pm

धुलिखेल/विरामी बोक्ने एम्बुलेन्समा यात्रु बोकेको फेला परेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले एम्बुलेन्स सहित चालकलाई नियन्त्रणमा लिएर कारवाही शुरु गरेको छ । 
‘सर्लाहि जिल्लाको बबरगञ्जबाट काठमाडौ यात्रु लिएर आउँदै गरेको एम्बुलेन्सलाई नियन्त्रणमा लिएर कारवाही शुरु गरेका छौं’–जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले बताउनु भयो–‘विरामी बोक्ने एम्बुलेन्सले यात्रु बोक्न नपाईने भए पनि पैसाको प्रलोभनमा यात्रु बोकेको फेला परेको हो ।’ जिल्ला प्रहरी कार्यालय काभ्रेले अरनिको राजमार्गको साँगा चेकपोस्टमा उक्त एम्बुलेन्स नियन्त्रणमा लिएको एसपी पौडेलले बताउनु भयो । सर्लाहिबाट काठमाडौसम्मको १४ हजार रुपैयाँ रिजर्भमा यात्रु बोकेको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी एवं सूचना अधिकृत कुमार विक्रम थापाले बताउनु भयो । वा ५ च ८६३८ नम्वरको एम्बुलेन्सले सर्लाहिबाट काठमाडौसम्म ६ जना यात्रु राखेर ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको डिएस्पी थापाले बताउनु भयो । 
जिल्ला प्रहरी कार्यालय काभ्रेले सार्वजनिक यातायात नचल्दा यात्रुहरु ओसार पसार गरिरहेका मालवाहक सवारी साधनको चेकजाँचमा कडाई गरेको छ भने नीजि नम्वर प्लेटका गाडीहरुले यात्रु ओसार पसार गरेको पाईएमा कारवाही गरेको छ । मापदण्ड विपरित संचालन भएका सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको जिल्ला प्रहरी प्रमुख एसपी पौडेलले बताउनु भयो ।