2026 April 23/ 12:01: 26am

धुलिखेल/परिवार नै मिलेर बुहारीको हत्या गरिएको अभियोगमा पक्राउ परेका एकै परिवारका पाँच जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको १४ महिना पछि अन्तिम फैसला सुनाएको छ । अन्तिम फैसलामा श्रीमानलाई जन्म कैद सुनाउँदै अन्य चार जनालाई सफाई दिएको छ । उच्च अदालतले जिल्ला अदालतको आदेशलाई उल्छाउँदै सासु र ससुरालाई धरौटीमा छाड्न आदेश दिएको थियो । 
    मण्डनदेउपुर नगरपालिका वडा नम्वर ४ घर भएकी २५ बर्षिया सरिता दुलाललाई मण्डनदेउपुर नगरपालिका वडा नम्वर ६ बस्ने पिताम्बर दुलालको छोरा २५ बर्षिय सुदिप दुलाल, ६३ बर्षिय पिताम्बर दुलाल, पिताम्बर दुलालको श्रीमती ६५ बर्षिया रोमकुमारी दुलाल, पिताम्बर दुलालको छोरा ३६ बर्षिया केशबप्रसाद दुलाल, केशबप्रसाद दुलालको श्रीमती ३५ बर्षिया संगिता दंगाल (दुलाल) सहितलाई ज्यान सम्वन्धी कसुर (कर्तव्य ज्यान) अभियोगमा मुद्दा दर्ता गरिएको थियो । सरिताको श्रीमान सुदिप दुलाललाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७६ असार २१ गते न्यायाधीश दुर्गा खड्काको इजलाशले जन्म कैदको सजायँ सुनाउँदै अन्य चारजनालाई सफाई दिने निर्णय गरेको छ । बहिनीको हत्या पछि दाजु कृष्णप्रसाद दाहालले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिएका थिए । अदालत पुगे पछि श्रीमान सुदिपले आफु एक्लैले श्रीमती सरिताको हत्या गरेकाले परिवारका अन्य सदस्यहरुको सहयोग नभएको बयान दिएका थिए । 
    जिल्ला प्रहरी कार्यालय, काभ्रेले घटनास्थल तथा लाशजाँच मुचुल्का, प्रहरी प्रतिवेदन, जाहेरी दरखास्त, खानतलासी तथा वरामदी मुचुल्का, शव परिक्षण प्रतिवेदन, प्रतिवादीहरु सुदिप दुलाल, केशव दुलाल, संगिता दुलाल र पिताम्वर दुलाल र रोम कुमारी दुलालले गरेको बयानका आधारमा मृतक सरिता दाहाल (दुलाल) को फोटाहरु लगायतका प्रमाणका आधारमा मण्डन देउपुर नगरपालिका वडा नं.६ स्थित प्रतिवादीहरुको आफ्नै घरमा प्रतिवादीहरु सुदिप दुलाल, पिताम्वर दुलाल, केशव दुलाल, संगिता दुलाल र रोमकुमारी दुलाल समेतको आपसी योजना, सल्लाह, संलग्नता र सहमतिमा मृतक सरिता दाहाल (दुलाल) को हातखुट्टा समाई घाँटी थिची वाँधी कर्तव्य गरी मारेको निश्कर्ष निकालेको थियो । पीडितले पाउने क्षतिपूर्ति फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ४८ र अपराध पिडीत संरक्षण ऐन,२०७५ वमोजिमको पीडित राहत कोषमा जम्मा हुन मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ वमोजिम माग गरिएको थियो । 
प्रहरीको माग अनुसार अदालतले सजायँ सुनाएन । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यान सम्वन्धी कसुरमा भएको व्यवस्थामा दफा १७७ ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने ((१) कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्न कुनै काम गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ । उपदफा (१) वमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुनेछ । 

के थियो दाजु कृष्णप्रसाद दाहालले दिएको जाहेरीमा ?  
    २०७२ बैशाख ९ गते प्रतिवादी सुदिप दुलालसँग सामाजिक परम्परानुसार मागी विवाह भई सामान्य जीवन विताई रहेको अवस्था भए पनि विवाह भएको केही समय देखि नै वहिनीलाई प्रतिवादीहरुले पटक–पटक शारीरिक तथा मानसिक यातना दिनुका साथै धम्क्याउने कुटपिट गर्ने भए पनि उक्त व्यवहारमा विस्तारै सुधार हुँदै आउला भनि चित्त बुझाउदै आएका थियौ । 
वहिनी सरिताले पनि जसोतसो आफ्नो घर गरी आएकी थिईन् । २०७६ बैशाख १३ गते दिनको १२ बजे मेरो बहिनीको घर गाउँलेले मेरो मोबाइलमा फोन गरी बहिनीको मृत्यु भएको जानकारी दिनुभयो । मेरो जेठान नारायण प्रसाद ढकाल र भाइ हिरामणी दाहाल सहित वहिनीको घर (घटनास्थल) पुग्दा त्यहा गाउँले, पुलिस र मृतकका श्रीमान वाहेक अन्य प्रतिवादीहरु घटनास्थलमा नै थिए । घटनास्थल प्रकृति र बहिनीको मृत शारीर हेर्दा अस्वभाविक अवस्थाको थियो । प्रतिवादीहरुले हामीलाई घटनाको सूचनासम्म दिनु भएन भने हामी त्यहा पुग्दा हामीसँगै कुराकानी तथा छलफल गर्न समेत चाहनु भएन । हामीले घटनाको विषयमा वुझ्न खोज्दा मृतकका जेठाजु केशव दुलालले हामीले प्रकृया पु¥याएर काम गरेका छौ तिमीहरुलाई के चासो प¥यो, सकेको गर भनि सबै गाउँले तथा प्रहरीका विचमा उल्टै हामीलाई धम्कीपूर्ण जवाफ दिए पछि मृत शरीर, घटनास्थल घरको अवस्था समेत हेर्दा बहिनीको घाँटीमा निलो डाम देखिएको थियो । वहिनीको लास भुईमा विना खोलको सिरक माथि लमतन्न हुने गरी सुताएको अवस्थामा थियो । अर्कोतर्फ घरको घटनास्थल अवस्था हेर्दा बहिनीको लास भएको कोठामा तन्ना नहालेको अवस्थामा बहिनीको लास थियो । घरको भान्सामा आधा खाएको अवस्थामा दुइवटा प्लेट र बहिनी सुत्ने कोठामा टिभी झरेको अन्य सामान र लत्ता कपडाहरु असरल्ल रुपमा छरिएर रहेको अवस्थामा थियो । घटनास्थित वुझ्दा निज प्रतिवादीहरुले मेरी वहिनीलाई योजनावद्ध तरिकावाट कर्तव्य गरी मारेका हुनाले प्रतिवादीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्वन्धी कसुरको दफा १७७ वमोजिम कारवाही गरी पाउँ । 

के थियो घटनास्थालको अवस्था  ? 
    मण्डनदेउपुर नगरपालिका वडा नं. ६ स्थित माहादेब पोखरी भन्ने स्थानको सुदिप दुलालको २ तल्ले जस्ताको छानो भएको पुर्ब मोहडा भएको कच्ची घरको माथिल्लो तल्लाको उत्तर तर्फको ढोकाबाट भुईमा म्याट बिच्छाई सो म्याट माथि रातो बुट्टा भएको डस्ना बिच्छाएको सोही डस्ना माथि मृतक सरिता दाहाल दुलालको मृत लाश पश्चिम टाँउको पुर्ब खुट्टा भई उत्तानो अबस्थामा दुबै हात कम्बरमा सटी रातो सुरुवाल र रातो बुट्टे कुर्ता बाहिर रातो कोठा बुट्टा भएको चोली छातीमा निलो रङ्गको ब्रा, नाकको बाँया तर्फ नथी दुबै कानमा रिङ्ग र गलामा सिक्री लगाई मृत अबस्थामा रहेको थियो । मृतक लाश रहेको डस्ना मुनी छेउको खुट्टे खाटमा कालो रङ्गको मोबाईल थान १ गरी २ वटा मोबाईल रहेको उक्त मोबाईल डोरीमा लगाएको गोली आकारको धातु चुरोटको बट्टा समेत घटनास्थलबाट प्रहरीले बरामद गरेको थियो । सुदिप दुलालको भान्सा कोठाको ढोका माथी गाह्रोको च्यापमा गुलेलिको रवर कालो, रातो रंगको ३ वटा गुलेलिवाट खोली वाँसको दुईवटा गुलेलीमा प्रयोग हुने टुक्रामा वेरिएको अवस्थामा फेला परेको थियो । 
सरिताको श्रीमान सुदिप दुलालको बयान 
    म १६/१७ बर्षको उमेर हुँदा देखि नै साथी भाईको संगतमा लागू औषध गाँजा सेवन गर्दै आउने हुँदा प्रायजसो घरमा नबस्ने बाहिर हिड्ने गरेको थिएँ । ४ बर्ष जति सह–चालक काम गरी कमाई खाई आएकोमा मेरो घर परिवारमा समेत मैले गाँजा खाई हिड्ने कुरा थाहा पाई सुध्रिन्छ की भनि सरिता दाहाल दुलाल संग परिवारले मागी विवाह गरी दिएका थिए । विवाहको २ बर्ष जति श्रीमतीसँग तथा परिवार संग मिली बसी विवाह गरेको १ बर्ष पछि मेरो दाजु तथा बुबाले छुट्टी भिन्न बस्ने कुराकानी भई मेरो श्रीमतीले समेत छुट्टै बस्न सहमती जनाएकोले छुट्टभिन्न भई आ–आफ्नो व्यबहार गरी आईरहेकोमा मैले चालक अनुमती पत्र समेत प्राप्त गरी सकेको हुँदा टिपर गाडी चलाई कमाई खाई श्रीमतीको समेत लालन पालन गर्दै आएको थिएँ । मेरो लागुऔषध गाँजा सेवन गर्ने बानी नछुटेकोले मेरो घर परिवारको सल्लाहमा मेरो भिनाजुले मलाई उपचार गर्न लाने भनि मिति २०७५।०६।०८ गते भक्तपुर जिल्ला भातेढिकुर स्थितमा रहेको नँया बिहानी सुधार गृहमा लगी राख्नु भयो । म सुधार गृहमा नै बसी मेरो परिवार तथा आफन्तले मलाई २०७५ सालको फाल्गुण महिना तिर सुधार गृहबाट निकाली घरमा ल्याई घरायसी कृषि पेशा गरी श्रीमान श्रीमती मिली बस्दै आएकोमा निज श्रीमती सरिता दाहाल (दुलाल) सधै जसो कोठा भित्र बस्ने म्यासेजमा अन्य केटाहरु संग कुराकानी गर्ने गर्दै आएकोमा निज श्रीमतीलाई मैले तिमीले को सँग कुराकानी गरेको म त हाल गाँजा सेबन गर्न समेत छाडी सुध्रि सकेको छु भन्दा समेत केही कुरा नबताई मैले यस्तो किसिमको क्रियाकलाप गरेको छैन भनि ढाकछोप मात्र गरी आईन् । मेरो मनमा कुरा खेल्न थाली निजलाई अब बाँकी नराख्ने बिचार गरें । २०७६ बैशाख १२ गते दिनको समयमा संगै आफ्नै खेतमा मकै गोड्न गयौं । 
    मकै गोडी बसेको समयमा गाँउको छिमेकी नाताले काका पर्नेले मेरै अगाडी श्रीमतीलाई जिस्काई बोलाउँदा समेत श्रीमतीले आज हुन्न पछि भेट्छु भनि मुस्कुराउदै भने पछि मलाई उ प्रति रिस उठी मन मनैले आज नमारी छाड्दिन भन्ने सोची दिनभरी काम सकी दुबै जना घरमा आई मैले बेलुकाको खाना पकाई निज श्रीमतीले गाई गोठको धन्दा गरिन् । त्यससँगै हामीले खाना खाई अन्दाजी  साँढे ९ बजे समयमा दुबै जना सुत्न कोठामा गए पश्चात मलाई श्रीमतीले गर्नुपर्ने व्यबहारमा परिवर्तन भएको महसुस भयो । दिउँसो मेरो अगाडि गरेको व्यबहार सम्झी झन रिस उठ्यो । त्यस लगत्तै मैले एक खिल्ली चुरोट खाई संगै भुईमा सुतेकोमा बिहानी पख बिउँझी निज श्रीमती प्रति अति नै रिस उठ्यो । २०७६ बैशाख १३ गते बिहानी पख उठी बाहिर निस्की केही समय पछि कोठामा आएँ । श्रीमतीलाई कहाँ गएर आएको यत्रो समयम सम्म भनि सोधनी गर्दा निजले पिसाब गर्न गएको हो त्यही पनि किन के को चासो हो जहाँ गए पनि भनि बादबिवाद हुँदा सँगैको अर्को कोठामा सुतेको बुबा, आमा, दाई र भाउजु समेत आए पश्चात यो धेरै बेसी भएकी छ यसलाई नमारी हुन्न यसले हाम्रो घर परिवार र कुल समेतको ईज्जतमा आँच आउने कार्य गर्न सक्छ यसलाई मार्नुपर्छ भनि बुबा, दाई, आमा र भाउजु समेतले मलाई उस्काए पछि श्रीमतीको शरीर छातीमाथि चढी दुबै हातले केही बेर घाँटी थिची बुबा पिताम्बर दुलालले खुट्टा समाती दाई केशब दुलालले दुबै हात समाते पश्चात मैले सोही कोठाको दलिनमा रहेको गुलेली बनाउनको लागि प्रयोग गरीने काठ सहितको रबरलाई खोली उक्त कलेजी रातो रंगको रबरले निज श्रीमतीको घाँटीमा दुई फन्का घाँटीमा बेरी कसी चल्न चट्पटाउन छाडे पश्चात अब मरी भनि घर सल्लाह बमोजिम घरबाट भागें । 
     म भागी घर नजिकै सिन्धुपाल्चोक स्थित ईन्द्रावती खोलाको बगरमा रहेको लामा क्रसर नजिक वनमा गई दिन भर सोही स्थानको जंगलमा एक्लै बसी रहेकै अबस्थामा घर परिवार सबैलाई प्रहरीले पक्राउ गरी लगेको भन्ने कुरो हो–हल्ला गरी सुनी थाहा पाई बेलुकी पख काभ्रेपलाञ्चोक जिल्ला ढाडखोला स्थित तल्लो बजारमा आई चाउचाउ र बिस्कुट किनी खाई मेरो घर नजिक मान्छे नबस्ने दाउरा राखेको गोठमा गई बसें । विहान ५ बजेको समयमा प्रहरीले पक्राउ गर्ने डरले काठमाडौ स्थितमा लुकी बस्छु भनी गाडीमा गएमा मान्छेले थाहा पाँउछ भेट्छ भन्ने सोची ढाडखोला तर्फबाट नगरकोट जाने सडक नै सडक हिड्दै गई रहेको अबस्थामा बालुवा पाटी स्थितमा पुगे पश्चात पक्राउ गरेको हो ।