2026 April 23/ 12:01: 11am

‘कम उमेरमै विवाह गरी गर्भवती भएका कारण अनेक समस्या देखिए ।’

महाभारत/जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाको गोकुले स्वास्थ्य चौकीमा भर्ना भएकी गर्भवतीलाई २४ घण्टा पछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडांै लगिएको छ । असार १८ गते सुत्केरी हुनुपर्ने मिति भए पनि साउन २ गते शुक्रबार मात्रै उनलाई सुत्केरी ब्यथाले च्यापेको थियो । 
महाभारत गाउँपालिका वडा नम्वर २ गोकुले अमलबास निवासी १९ बर्षीया सुनिता थोकरलाई सुत्केरी ब्यथाले च्यापेपछि थप उपचारका लागि काठामडौ रिफर गरिएको थियो । विकटता र गरिबीका कारण तत्कालै रिफर गरेर अस्पताल पु¥याउन सम्भव भएन । ‘शुक्रबार दिउँसो १२ बजे सुत्केरी ब्यथाले च्यापेर गोकुले स्वास्थ्य चौकी आउनु भएकी सुनिता थोकरलाई दिउँसो ३.३० बजे रिफर गरिएको थियो’–स्वास्थ्य चौकी इन्चार्ज एवं हेल्थ असिस्टेन्ट प्रविण कुँवरले भन्नुभयो–‘सुनिताका आफन्तले टाढाको बाटो, पैसाको अभाव देखाउँदै लैजान सक्नु भएन ।’ दुई पटक एसएलसी फेल भए पछि १७ बर्षको उमेरमा विवाह गर्नु भएकी सुनिता थोकरलाई स्वास्थ्य चौकीमा आउनु अगावै बिहान १० बजे देखि सुत्केरी ब्यथाले च्यापेको थियो । नियमित गर्भको स्वास्थ्य परिक्षण गराए पनि भिडियो एक्सरे अभावका कारण हुन सकेको थिएन । लकडाउनले थप परिक्षण हुन नपाएकाले सुत्केरी ब्यथाले च्यापेपछि उपचारमा कठिनाई भएको हो । 
‘सुनिताको बच्चा जन्मनु अघि नै रक्तश्राव भयो, मिति पुगेर पनि सुत्केरी हुन सकेको थिएन, गर्भ अवस्थामा हुने रक्तचाप भयो, पाठेघर खुल्न सकेन’–हेल्थ असिस्टेण्ट कुँवरले भन्नुभयो–‘दिउँसो १२ बजे देखि लगातार प्रयास भयो, चिकित्सकिय परामर्शका लागि बरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा वन हर्टका बरिष्ठ सल्लाहकार डा. स्वराज राजभण्डारी र कार्यकारी निर्देशक सुर्य भट्टको सहयोग र समन्वयमा थप उपचार भयो । बच्चा र आमा दुबैको ज्यान बचाउन कुनै उपाय नभए पछि स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झालाई सम्पर्क गरेर घटनाका बारेमा जानकारी गराएँ ।’ गोकुले स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर पनि छ । दक्ष प्रसुतिकर्मी मन्दिरा बैद्यले सुनिताको उपचारमा प्रयास गर्नुभयो सम्भव भएन । अन्ततः सुनिता र पेटमा भएको बच्चाको रक्षाका निम्ति स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झालाई मध्यराती १ बजे टेलिफोन गरेसँगै उद्धारको पहल हुन सक्यो । उद्दारको पहल भएको १२ घण्टा पछि हेलिकप्टर मार्फत सुनितालाई प्रसुती गृह पु¥याईएको थियो । ‘जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाको पहल नभएको भए सायद हेलिकप्टर आउने सम्भावना कम थियो, उहाँको पहलले सबैलाई पहल गर्न बाध्य बनायो’–गोकुले स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्ट कुँवरले भन्नुभयो । 

कसरी भयो उद्दार ? 
वडा अध्यक्ष कान्छामान जिम्बाले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई घटनाका बारेमा जानकारी गराउनु भयो । हेल्थ असिस्टेन्ट प्रविण कुँवरले स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झालाई जानकारी गराउनु भयो । सहयोगी संस्था वन हर्टका रविन जोशी र उहाँ मार्फत चिकित्सकिय परामर्शका लागि बरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा वन हर्टका बरिष्ठ सल्लाहकार डा. स्वराज राजभण्डारी र समन्वय कार्यकारी निर्देशक सुर्य भट्ट मार्फत सहयोग र समन्वय भयो । राष्ट्रपति महिला उद्दार कोषमा सम्पर्क भए पनि काभ्रेपलाञ्चोक जिल्ला दुर्गम जिल्लामा नभएकाले सम्भव भएन । 
वडा अध्यक्ष मार्फत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झा मार्फत संघि सांसद गंगाबहादुर दोङ्ग, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालयमा राति नै खबर पुग्यो । लगातार परिरहेको पानीका कारण सम्भव भएन । विहानसम्म प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाको समन्वय भयो । गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय काभ्रेलाई उद्धारका लागि पत्र लेख्यो भने जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पत्र लेख्यो । निःशुल्क हेलिकप्टरको सम्भावना नभए पछि कैलाश एयरको १ लाख रुपैयाँ तिर्ने गरी शनिबार दिउँसो १२ बजे हेलिकप्टर गोकुले पुग्यो । सुनिताको प्रसुती गृहमा बच्चाका लागि अप्रेसन गरिएको थियो । बच्चा र आमा दुबै खतरामुक्त छन् । 

बालविवाह र विकटता
    शहरी क्षेत्रमा समेत रोकिन नसकेको बालविवाह डाँडापारीको महाभारतमा सामन्य जस्तै छ । बार्षिक ५० भन्दा धेरै जोडीहरु बालविवाह गर्छन् । कम उमेरमै गर्भवती भए पछि सुनिताको जस्तो समस्या भोग्ने धेरै छन् । अकालमै ज्यान फाल्नु पर्ने समस्याबाट डाँडापारी क्षेत्रका नागरिकहरु अझै मुक्त हुन सकेका छैनन् । सडक सञ्जाल जोडिए पनि १२ महिना चल्ने पक्की सडक नहुनु, उपचार गराउन अस्पताल लैजाने श्रोत नहुनु, सानै उमेरमा विवाह हुनु जस्ता कारण महाभारत क्षेत्रका अधिकांश घरमा यस्ता समस्या देखिएका छन् । ‘प्रदेश सरकारले बाल विवाह रोक्न कार्यक्रम ल्याए पनि प्रभावकारी हुन सकेको छैन’–वडा अध्यक्ष कान्छामान जिम्बाले भन्नुभयो–‘गाउँपालिकाले पनि विशेष कार्यक्रम संचालन गरिरहेको छ तर पनि बालविवाह रोक्न सकिएको छैन ।’ गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गरिबी र विकटता दुबै हटाउने गरी स्थानयि सरकारले काम गरिरहेको बताउनु भयो । एम्बुलेन्स खरिद गर्ने, नागरिकहरुलाई शहरसँग सहज रुपमा जोड्ने उद्देश्यले निरन्तर सडक सञ्जाल जोड्ने र त्यसलाई पक्कितर्फ उन्मुख गराउने कार्य शुरु भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो । केहि वर्ष अघि बनखुमा एक महिला सुत्केरी हुन नसक्दा हेलिकप्टर प्रयोग गरिएको थियो ।