2026 April 22/ 10:24: 03pm

बनेपा/बनेपा नगरपालिका अन्र्तगतका वडा नम्बर १,४,५,६,७,८,९,११,१३ र १४ मा बाल विवाह विरुद्धको अभियान सम्पन्न भएको छ । उक्त अभियानका लागि बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग रहेको थियो । 
टोल बस्तीमा रहेका १० वर्ष देखि २० वर्ष उमेर समुहका किशोर किशोरी, अभिभावक, सामाजिक अभियन्ता, जनप्रतिनिधिहरुको सहभागितामा बाल विवाह बिरुद्ध सचेतना कार्यक्रम आयोजना गरिएको हो । महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाकी प्रमुख बिजया लक्ष्मी सुवेदीका अनुसार सचेतना कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले घर परिवारबाटै बालबालिकाहरु असुरक्षित भएकाले बालबालिकाहरुको सुरक्षाको चुनौती रहेको बताउनु भयो । सञ्चारको विकास सँगै समाजमा विकृती पनि बढेको हुँदा अभिभावकसँग समाज सचेत रहनु पर्ने सापकोटाको धारणा थियो । नगरले बालविबाह, घरेलु हिंसा, किशोर किशोरी समुह गठन, महिला हिंसा बिरुद्ध समय समयमा सचेतना कार्यक्रम गर्दै आएको सापकोटाले बताउनु भयो । 
कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, महिला तथा जेष्ठ नागरीक शाखाकी निरीक्षक निर्मला कार्की, सहायक निरीक्षक सुनिता यादव लगायतका ब्यक्तिहरुले कार्यक्रमको बारेमा बताउनु भएको थियो । बागमती प्रदेशलाई बालविवाह मुक्त प्रदेश घोषणाको लागी अभियानको सुरुवात वडाबाट हुने भएकाले वडाको बस्तिबस्तिमा उक्त अभियान शुरु गरिएको शाखा प्रमुख सुबेदीले वताउनु भयो ।