2026 April 22/ 10:36: 55pm

धुलिखेल/स्वास्थ्य कार्यालय काभ्रेले आर्थिक वर्ष २०७६/०७७ मा भए गरेको गतिविधिहरुका बारेमा जानकारी गराएको छ । कोरोना भाईरस, जनशक्ति अभाव तथा ढिला कार्यक्रम प्राप्त भएकाले धेरै कार्यक्रम गर्न नसकिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । 
कोरोनाको महामारीका बाबजुत दादुरा रुवेला खोप जस्ता महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.झाले बताउनु भयो । क्षयरोग निवारण, सरुवा रोग नियन्त्रण र रोकथाम जस्ता विषयमा स्वास्थ्य कार्यालयले स्थानीय सरकारसँगको समन्वयमा कार्य गरिरहेको उहाँले बताउनु भयो । क्षयरोगका बारेमा स्वास्थ्य कार्यालयका तेजनारायण शाह र विष्णु तिमल्सिनाले जानकारी गराउनु भएको थियो । कोरोनाका कारण क्षयरोग उल्मुलन गर्ने अभियान १० वर्ष पछि धकेलिएको सोहि कार्यक्रममा जानकारी गराईएको थियो । काभ्रेमा पहिचान भएका १ सय ८ जना क्षयरोगीहरुले औषधी सेवन गरिरहेका छन् भने ति मध्ये तीन जनालाई एचआईभी एड्स समेत भएको छ । ९ सय ५६ महिला स्वयंसेविकाहरुलाई पोशाक भत्ता र यातायात खर्च बापत १३ हजारका दरले १ करोड ३० लाख बैंक खातामा जम्मा गरिदिएको, कोरोनाको अवसरमा स्वास्थ्यकर्मीहरुलाई बीमा गरिदिएको डा. झाले बताउनु भयो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।