2026 April 22/ 10:36: 01pm

बनेपा/नेपाल सरकारले कोभिड–१९ संक्रमण रोकथामका लागि जारी गरेको लकडाउन अवधिमा मेरोमाइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पनौतीका घरधनीले संस्थालाई एक महिनाको घरभाडा छुट दिएका कारण घरधनीलाई सम्मान गरेको छ । 
पनौती नगरपालिका–६, काभ्रेका लोक दर्शन कर्माचार्य र कृष्णकुमार कर्माचार्यको संयुक्त स्वामित्वमा रहेको घरमा संस्थाले २०७५ सालदेखि शाखा कार्यालय राखी दैनिक कारोबार सञ्चालन गर्दै आइरहेको छ । कोरोना महामारीले निम्त्याएको अप्ठ्यारोका बेला घरबेटीकै स्वेच्छाले भाडा छुट दिएकाले सम्मान गरिएको र घरभाडा छुट रकम स्थानीय स्तरकै कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागि सहयोग गर्ने पनौती शाखाका प्रमुख जानकी श्रेष्ठले बताउनुभयो । नेपाल सरकारले आग्रह गरेको घरभाडा छुटलाई कार्यान्वयन गरिएको संस्थालाई राहत होस् भनेर सहुलियत दिएको कर्माचार्य द्वयले बताए ।  
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ । सरकारको आदेश तथा नियम पालना गरी शाखा कार्यालयहरु मार्फत सेवा प्रवाह गरिरहेको छ । साथै बिभिन्न स्थानीय तहहरुको समन्वय तथा सहकार्यमा खाद्यान्न तथा आर्थिक सहयोग पनि गरिरहेको छ । त्यस्तै, काभ्रेपलाञ्चोकको मदनदेउपुर नगरपालिकामा रहेको राधाकृष्ण घनश्याम विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुका अभिभावकहरुलाई ५० हजार बराबरको खाद्यान्न सहयोग गरिसकेको संस्थाले जनाएको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय र मनमैजु अनुगमन कार्यालय काठमाण्डौं अन्र्तगत काभ्रेमा ३ शाखा सहित ८ जिल्लामा १२ शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।