2026 April 22/ 10:36: 39pm

काभ्रेका सशांक च्याम्पियन
बनेपा/दोश्रो रोल्पा खुल्ला जुनियर भर्चुअल राष्ट्रिय तेक्वान्दो प्याट्रन च्याम्पियन सिपमा काभ्रे तेक्वान्दो एकेडेमीका सशांक नापित च्याम्पियन भएका छन् ।
    प्रदेश नम्वर ५ पाल्पाका निरज थापा दोश्रो स्थानमा सिमित भए पनि गण्डकी प्रदेश बाग्लुङ्गका अनिल थापा तेश्रो भएका छन् । पाँच पक्ष राखिएको प्याट्रन निर्धारणमा ३४ स्कोर रहेको थियो । सशांक नापितले २९ अंक प्राप्त गर्दै राष्ट्रिय च्याम्पियन भएका हुन् । त्यस्तैगरी निरज थापाले २६.५ अंक प्राप्त गरी दोश्रो भए भने अनिल थापाले २४ अंक प्राप्त गरी तेश्रो भए । नेपाल अन्तर राष्ट्रिय तेक्वान्दो महासंघका रेफ्रि प्रमुख प्रविण कुमार कार्कीको नेतृत्वमा सात सदस्यिय राष्ट्रिय र अन्तराष्ट्रिय रेफ्रिहरुले महासंघ र जिल्ला संघको सहकार्यमा खेलाडीले पठाएको भिडियोको मुल्यांकन गरी भिडियो कन्फरेन्स मार्फत नै नतिजा सार्वजनिक गरिएको थियो । प्रतियोगिता संयोजक तथा रोल्पा आईटिएफ संघका अध्यक्ष विक्रम बाढा मगरले प्रतियोगिताका बारेमा जानकारी दिदै देशभरबाट १ सय ७६ खेलाडीहरुले प्रतिस्पर्धा गरेको जानकारी गराउनु भयो । प्रतियोगितामा प्रथम हुने सशांक नापितले नगद ५ हजार, दोश्रो हुने निरज थापाले ३ हजार ५ सय र तेश्रो हुने अनिल थापाले २५ सय रुपैयाँ नगद प्राप्त गरेका थिए । काभ्रे तेक्वान्दो एकेडेमीका प्रमुख राजमन्दिर श्रेष्ठका अनुसार लकडाउनको अवधीमा पनि खेलाडीहरुलाई प्रतियोगितामा सहभागी भर्जुअल माध्यमबाट सहभागि गराईएको थियो ।