पनौती/कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण करोडौं क्षती बेहोर्न बाध्य किसानलाई पनौती नगरपालिकाले राहत स्वरुप सहयोग उपलब्ध गराउन सुरु गरेको छ ।
कार्यक्रम अन्तर्गत वडाबाट छनौट भएका कृषकलाई नगरपालिकाले इलेक्ट्रिक स्प्रे, टनेल लगायतका कृषि सामाग्री वितरण गरेको छ । वुधबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच वडा नम्वर ६ र ८ का किसानलाई कृषि सामाग्री वितरण गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले किसान र पशुपालनलाई व्यवस्थित ढंगले अगाडी नबढाएसम्म प्रगती सम्भव नरहेको बताउनु भयो । उक्त कुरालाई मध्येनजर गर्दै नगरपालिकाले कृषि र पशुपालनमा सबैभन्दा बढी लगानी गरेको उनले न्यौपानेले बताउनु भयो । आफु पनि किसानकै छोरो भएकाले कृषि पेशाप्रती गर्व लाग्ने नगर प्रमुख न्यौपानेको भनाई थियो । नगरपालिकाले वितरण गरेका कृषि सामाग्रीको सहि सदुपयोग गर्दै अधिकतम लाभ लिन उनले सम्पुर्ण किसानलाई आग्रह गर्नु भएको छ । व्यवसायिक खेतीमा लाग्न जोड दिँदै न्यौपानेले त्यसका लागि नगरपालिकाले सधै सहयोग गर्ने बताउनु भयो ।
नगर प्रमुख न्यौपानेले राजनीतिक आस्थाको आधारमा मात्रै नभई कामका आधारमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनिदिन पनि आम नगरवासीलाई अनुरोध गर्नु भएको छ । किसानले नगरपालिकामा वुझाउनुपर्ने सम्पति करमा २५ प्रतिशत छुट दिइएको पनि कार्यक्रममा न्यौपानेले बताउनु भयो । कार्यक्रममा, उप–प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाँई, वरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारी, कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणिप्रसाद सापकोटा, वडा नम्वर ६ का वडा अध्यक्ष सुधिर सापकोटा, ८ का वडा अध्यक्ष केशव बञ्जारा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कृषि शाखा प्रमुख सापकोटाले आगामी वर्षदेखी किसानलाई वर्गिकरण गर्ने बताउँदै नगरपालिकाले सामुहिक खेतीमा विशेष जोड दिएको बताएका छन । सापकोटाले लकडाउनका कारण किसानले धेरै क्षति बेहोर्नु परेपनि थप चिन्तित नहुन आग्रह गर्नु भएको थियो । नगरपालिका सधैं किसानको साथमा रहेको बताउँदै सापकोटाले थप राहतका कार्यक्रम सहित किसानको घरदैलोमा आउने बताउनु भएको थियो ।
यसअघि ६ वटा वडाका किसानलाई कृषि सामाग्री वितरण गरिएको थियो । ४, ५, ११ र १२ नम्वर वडामा बाँकी रहेको र त्यहाँ पनि वितरणको अन्तिम तयारीमा रहेको सापकोटाले जानकारी दिनु भयो । नगरपालिकाले आगामी आर्थिक वर्ष युवालाई कृषिमा आकर्षित गर्न तथा थप रोजगारी सिर्जना गर्न भुमी बैंक, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई २ लाख सम्मको अनुदान लगायतका कार्यक्रम ल्याएको छ ।





