2026 April 23/ 01:09: 34am

बनेपा/जिल्लाका अन्य स्थानीय तहहरुमा जस्तै बनेपा नगरपालिकाका १४ वटै वडामा पाँच वर्षसम्मका बालबालिकालाई सोमबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईएको छ । सोमबार र मंगलबार दुई दिन भिटामिन ए खुवाईएको स्वास्थ्य शाखा प्रमुख सत्यश्वर मकै श्रेष्ठले बताउनु भयो ।
गत वैशाख ६ र ७ गते तय गरिएको उक्त कार्यक्रम कोरोना भाईरसको महामारीका कारण स्थगित गरिएको थियो । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक उक्त कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो तर यस वर्ष कोरोना महामारीका कारण दोस्रो चरणको कार्यक्रम असार २२ र २३ गते तय गरिएको  स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोना भाइरसको महामारी भएका कारण यस वर्षको खोप कार्यक्रममा सचेतता अपनाई भिटामिन ए र जुकाको औषधी खुवाईएको थियो ।  स्वास्थ्यकर्मीले पञ्जा, मास्क लगाएर सेवा दिईरहेको मकैले वताउनु भयो । उक्त कार्यक्रमको बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले अनुगमन गर्नु भएको थियो । दाहालले नगरमा सुरक्षा अपनाएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाईएको बताउनु भयो । नगरका १४ वडाको ६८ केन्द्रमा उक्त औषधी खुवाईएको थियो । भिटामिन ए कार्यक्रममा पहिलो दिन ३ हजार ८ सयले भिटामिन ए र जुकाको औषधी खाएका छन् ।