बनेपा/महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहयोगमा तथा काभ्रे बहिरा विकास संघको आयोजनामा समुदायमा आधारित पुर्नस्थापना (सिविआर) कार्यक्रम सम्बन्धि जनवकालत कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले गर्नु भएको थियो । दाहालले अपांगता भएका ब्यक्तिहरुलाई नगरपालिकाले तालिम, आय आर्जन मुलक सेवा दिई उनिहरुलाई आत्मनिर्भर बनाउन लागिरहेको बताउनु भयो । प्रत्येक वडामा अपांगता भएका ब्यक्तिहरुको पहिचान गरी परिचय पत्र वितरण गर्र्दै नगरपालिकाले प्रत्यक्ष लाभ पुग्ने कार्य गर्न लागीरहेको उपप्रमुख सापकोटा दाहाले बताउनु भयो । विभिन्न कारण मानिसहरु अपागंता हुने भएकाले उनिहरुलाई हेला नगरिकन उनिहरुको सामाजिक सहभागितालाई अभिबिृद्धि गराउनु पर्ने बताउनु भयो । नगरले पूर्वाधारमा मात्र विकास गरेको छैन, महिला, अपागंता, बालबालिका, कृषकहरुका लागि कार्यक्रमहरु ल्याएको हुदाँ उक्त कार्यक्रमहरुमा सहभागिता जनाउन नगरबासीलाई अनुरोध गर्नु भयो । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिजया लक्ष्मी सुवेदी, काभ्रे बहिरा विकास संघ काभ्रेका सल्लाहाकार कृष्णप्यारी नकर्मी लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा नगरका १४ वटै वडाका महिला सदस्य, कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधीहरुलाई आर सि आर डिका सुर्यभक्त प्रजापतिले तालिम प्रदान गर्नु भएको थियो । तालिममा अपागंता भएका ब्यक्तिहरुका समस्या, अपागंताका प्रकार, अपागंता रोकथाम तथा न्युनिकरणका उपायहरु, पुर्नस्थापनका बारेमा जानकारी दिईएको थियो ।





