बनेपा/जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र काभ्रेको आयोजनामा एक घर पाँच जडिबुटी, पाँच योग, पाँच ब्यवहार परिवर्तन सम्वन्धी कार्यक्रम बनेपा नगरपालिका वडा नम्वर ५ मा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला आर्युवेद स्वास्थ्य सेवा केन्द्रका प्रमुख आर्युवेद चिकित्सक डा मनोजकुमार चौधरीको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी उद्धव केसीले ब्यक्तिले ब्यवहार परिवर्तन सके स्वस्थ बन्न सकिने बताउनु भयो । घरायसी जडिबुटीहरु प्रयोग गर्न सकिएको अवस्थामा ब्यक्ति स्वस्थ बन्न र रोगसँग लड्न प्रतिरोधात्मक क्षमता बढ्ने बताउनु भयो । कार्यक्रममा योग गुरु प्रशिक्षक नरबहादुर ठकुरीले योगका बारेमा जानकारी गराउँदै ब्यक्तिका ब्यवहार परिवर्तन गर्न सहज हुने बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारीले वडा कार्यालयले आर्युवेद स्वास्थ्य केन्द्रको सहकार्यमा प्राथमिकताका आधारमा योजनाहरु सञ्चालन गरिरहेको, गाउँघर क्लिनिक संचालन गरेको, ६० वर्ष उमेर पुगेका नागरिकहरुको सम्मान सहित रोग प्रतिरोधात्मक औषधीहरु वितरण गरेको, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणमा ध्यान दिएको बताउनु भयो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले ब्यक्तिले ब्यवहार परिवर्तन गर्न सके जीवनयापन सहज हुने बताउनु भयो । कार्यक्रममा आर्युवेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक रमेशप्रसाद पनेरु, लेखापाल कृष्णप्रसाद पराजुली, वडा सदस्यहरु उमा बैद्य, सागर मानन्धर, राजकुमार भालु, ज्ञानु मिजार लगायतको सहभागिता रहेको थियो । आर्युवेद चिकित्सक डा. मनोजकुमार चौधरीले नियमित रुपमा जडिबुटीहरु बुर्जाे, कुरिलो, तुलसी, दालचिनी, टिम्बुर, कागती, घिउकुमारी लगायतको नियमित सेवन गर्दा ब्यक्तिको जीवन सहज हुने बताउनु भयो ।





