‘हामीलाई भाडा, घर धनीलाई कर छुट’
बनेपा/काभ्रे होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई लकडाउनका कारण होटल तथा रेस्टुरेन्ट ब्यवसायमा पारेको असरका बारेमा जानकारी गराउँदै ब्यवसायलाई सहज बनाउन सहजीकरण गरिदिन अनुरोध गरेका छन् ।
‘होटल ब्यवसायीहरुको तर्फबाट प्रमुख जिल्ला अधिकारी मार्फत ब्यवसायीहरुको समस्या समाधानमा पहल होस् भन्ने उद्देश्यले ज्ञापन पत्र बुझाएका हौं’– काभ्रे होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष श्यामकुमार श्रेष्ठ मुनालले भन्नुभयो–‘ब्यवसाय बन्द हुँदा बैकको ऋण, घर भाडा, कर्मचारीको तलब लगायतका समस्यामा फसेका छौं ।’ ब्यवसायीहरुले जिल्लाको समस्याका बारेमा १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष एवं केन्द्रिय सल्लाहकार श्यामकुमार मुनालले बताउनु भयो । ध्यानाकर्षण पत्र बुझाउन संघका केन्द्रिय सदस्य कृष्णकुमार श्रेष्ठ, पार्टी प्यालेस संघका अध्यक्ष शिवप्रसाद तिमल्सिना, काभ्रे होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघका जिल्ला सह–कोषाध्यक्ष निलकण्ठ श्रेष्ठ, जिल्ला सदस्य होमबहादुर श्रेष्ठ सहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
ब्यवसायीहरुले लकडाउन अवधीघरको घरभाडा पूर्ण रुपमा र संक्रमणकाल रहञ्जुलेसम्मका लागि ५० प्रतिशत छुटको ब्यवस्था मिलाउन माग गरेका छन् । घरबाहाल छुट गरेसँगै घरधनीहरुलाई समेत राहत पुग्ने गरी घरधनीहरुको बैकको कर्जा भुक्तानी समयावधी थप गर्न र घरबाहाल कर र बंैकको ब्याज छुट तथा अन्य कुरामा समेत छुट गर्नका लागि स्थानीय तहसँगको समन्वयमा विशेष राहत कोष मार्फत सम्बत्रोधन गर्ने वातावरण बनाउन माग गरेका छन् । बिजुली महशुल, टेलिफोन, इन्टरनेट लगायतका महशुलमा विशेष सहुलियत, ब्यवसाय कर तथा अन्य प्रकारका करमा छुटको ब्यवस्था मिलाउन सहजिकरणका लागि अनुरोध गरेका छन् । बंैकको ऋणको ब्याज र किस्ता तिर्ने समयावधी दुई वर्ष थप गर्न, ब्याजलाई हिसाब गरी साँवामा गाभिदिन, चालु ब्यवसायलाई धितोको रुपमा मुल्यांकन गरी न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन, न्युन ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराउन माग गरिएको केन्द्रिय सदस्य कृष्णकुमार श्रेष्ठले बताउनु भयो ।
बैदशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई महंगा होटलमा नभई इच्छा अनुसार र स्तर अनुसारको होटलमा बस्ने ब्यवस्था मिलाउन, बन्द रहेका होटलहरु सावधानी अपनाएर खोल्ने ब्यवस्था मिलाउन, लकडाउनका कारण विस्थापित मजदुरहरुलाई पुनर्ताजगि तालिमको ब्यवस्था गरी रोजगार सिर्जना गर्न, होटलमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु सहुलियत रुपमा उपलब्ध गराउन माग गरेका छन् । जिल्लामा २ हजार भन्दा धेरै होटलहरुलाई विद्यमान पर्यटन ऐनले सम्बोधन नगरेकाले पर्यटन ब्यवसायमा समेट्न, स्थानीय सरकारहरुले पर्यटन ब्यवसायसँग सम्वन्धित राजश्व सम्वन्धी नीति नियम तथा आवश्यक नीति नियमको तर्जुमा गर्ने समिति तथा उप समितिहरुमा काभ्रे होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघलाई सहभागी गराउन माग गरेका छन् ।





