2026 April 22/ 10:23: 52pm

आयोजनाको चौपक्षीय सम्झौता 
पाँचखाल/पाँचखाल र पाँचखालको बहुप्रतिक्षित सुनकोशी खानेपानी आयोजनाको चौपक्षीय सम्झौता भएको छ । पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गर्न खानेपानी तथा ढल व्यवस्था विभाग, नगर विकास कोष, पाँचखाल नगरपालिका र उपभोक्ता समिति बिचमा आयोजना व्यवस्थापनमा सम्झौता भएको हो । 
सम्झौतापत्रमा खानेपानी तथा ढल व्यवस्था विभागबाट विद्यानाथ भट्टराई, नगरविकास कोषको तर्फबाट सुवाष राज पन्त, नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश खरेल तथा उपभोक्ता समितिको तर्फबाट अध्यक्ष कुमार लामिछानेले हस्ताक्षर गर्नुभयो । सम्झौता सँगै सोमबारबाट औपचारिक रुपमा खानेपानी योजनाको काम सुरु भएको छ । खानेपानी योजनाको लागि हुएसुइ कन्काइ जोइन्ट भेन्चरलाई ठेक्का परेको छ । सम्झौता पत्रको साक्षीमा नगर उपप्रमुख लक्ष्मी दनुवार, उपभोक्ता समितिको तर्फबाट उपाध्यक्ष रबिन्द्र सिपखान, सचिव चेत प्रसाद गौतम, कोषाध्यक्ष झुलकुमारी दुलाल र सदस्य माइली दनुवार रहनुभएको छ । 
त्यस्तै नगर विकास कोष र खानेपानी आयोजाना बिचमा ऋण एवं जमानत सम्झौता भएको छ । कोष, नगरपालिका र उपभोक्ता समिति बिचमा ऋण एवं जमानत सम्झौता भएको हो । सम्झौतामा नगरविकास कोषका निमित्त कार्यकारी निर्देशक राजेश कुमार भोछिभोया र उपभोक्ता समितिको तर्फबाट कुमार लामिछानेले हस्ताक्षर गर्नुभयो । उपभोक्ता समितिलाई उपलब्ध गराइएको ऋणको जमानतमा भने नगर प्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले हस्ताक्षर गर्नुभयो । सम्झौता पत्रमा साक्षीको रुपमा उपभोक्ता समितिको तर्फबाट उपाध्यक्ष रबिन्द्र सिपखान, सचिव चेत प्रसाद गौतम, कोषाध्यक्ष झुलकुमारी दुलाल र सदस्य माइली दनुवार तथा नगर बिकासको तर्फबाट सरिता श्रेष्ठ र सुवासराज पन्तले हस्ताक्षर गर्नुभयो । 
सम्झौता पत्र अनुसार खानेपानी आपूर्ति तर्फको कुल रकमको २५ प्रतिशत रकम ५ प्रतिशत ब्याजदरमा नगरविकास कोषले उपलब्ध गराउने उल्नेख छ । कोषले  सम्झौताको ५ बर्ष सहुलियत दिने तथा २०८२ असार देखि ऋणको साँवा ब्याज बुझाउनुपर्ने उल्नेख छ । २०२१ पौष सम्म  ऋण तिर्नुपर्ने नगरविकास कोषका निमित्त कार्यकारी निर्देशक राजेश कुमार भोछिभोयाले जानकारी दिनुभयो । 
सम्झौता पश्चात पाँचखाल नगर प्रमुख महेश खरेलले निकै मेहनतका साथ सुरु भएको आयोजना खेर जान नदिने जानकारी दिनुभयो । काकाकुल पाँचखालमा यति ठूलो योजना परेकोमा सहयोग गर्नुहुने सबै पक्षलाइ धन्यबाद दिनुभयो । खानेपानी चरम अभावमा रहेका पाँचखालबासीलाइ खुशी दिलाउन नगरपालिकाको पहलमा २०७३ साल वैशाख ११ गते देखिको जनप्रतिनिधि, राजनैतिक दल, नागरिक अगुवाहरुको भेला, बैठक, उपभोक्ताहरुको भेला, उपभोक्ता समिति निर्माण देखि कार्यान्वयन चरणमा प्रवेश गरेको छ । परियोजनाको २०७६ भदौ १२ गते खानेपानी आयोजना अन्तर्गत शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो । आयोजना रु दुई अर्ब २१ करोडको लागतमा तीन बर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको थियो । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका थिए । खानेपानीका लागि भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पुर्याउन पाँचखाल नगर कार्यालयद्वारा सर्भेको काम सकेको पाँचखाल नगरपालिका प्राविधिक शाखा प्रमुख कपिलदेब भट्टले जानकारी दिनुभयो । आयोजनाबाट पाँचखाल नगर क्षेत्रका करिब सात हजार उपभोक्ता लाभान्वित हुने उपभोक्ता समितिले जनाएको छ ।