धुलिखेल/प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति काभ्रेले संयुक्त ज्ञापन पत्र बुझाएको छ ।
असार १८ गते विहिबार जिल्लास्थित राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको आषाढ १६ गतेको संयुक्त बैठकको निर्णयानुसार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा ऐनलाई संघीय संसद्मा पेश गर्ने गरी आषाढ १५ गते पारित भएको सन्दर्भमा कर्मचारीहरुको बृत्ति विकास र निजहरुलाई कामकाजी जनमूखी बनाउनका लागि सकारात्मक नदेखिएको पाईएकोले ध्यानाकर्षण भएको व्यहोरा अनुरोध गर्ने निर्णय गरेको छ ।
तीनै तहमा ट्रेड युनियन अधिकार सुनिश्चित गर्न, संविधानको धारा ३२ अनुसार सहकारीता समन्वय र सह अस्तित्वको सिद्धान्त बमोजिम सहकार्य हुने गरी प्रदेश र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था गर्न, आन्तरिक र खुला प्रतियोगिताको लिखित परीक्षाको सन्दर्भमा निजामती सेवा ऐन २०४९ को दफा ६ क बमोजिम पदपूर्ति हुने व्यवस्था सुनिश्चित गर्न, कर्मचारी समायोजन ऐन अनुसार समायोजन भई प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीहरुलाई निश्चित अवधि पछि संघर प्रदेशमा सरुवा हुने कानूनी आधारको स्पष्ट व्यवस्था गर्न, कर्मचारी समायोजन ऐन अनुसार समायोजन भई प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीहरुलाई निजामती कर्मचारीको रुपमा राख्न, निजामती सेवा ऐन २०४९ को दोस्रो संशोधनको व्यवस्था प्रतिकूल नहुने गरी उमेर हदको व्यवस्था कायम गर्न, सरुवा प्रणाली तीनै तहमा आउन जान पाउने गरी चक्रिय र पूर्वानुमान योग्य बनाईयोस्, नायव सुब्बाबाट अधिकृत पदमा जान अनुभवी र योग्य कर्मचारी अत्यावश्यक हुने भएकोले केही समय अगाडी देखि हटाईएको आन्तरिक प्रतिष्पर्धाको व्यवस्था राख्दा अनुभवी र दक्ष अधिकृत कर्मचारी राज्यले पाई नीति निर्माणमा समेत सकारात्मक प्रभाव पर्ने भएकोले सो व्यवस्था राख्न, हाल कायम व्यवस्था भन्दा पनि पश्चगामी भई ल्याईएको २० प्रतिशत बढुवा र ८० प्रतिशत खुल्ला प्रणालीलाई तुरुन्त सच्याउन, संघको श्रेणीगत व्यवस्था तथा स्थानीय र प्रदेशको तहगत संरचनाको विद्यमान व्यवस्थालाई एकरुपता कायम गर्न तीनै तहमा श्रेणीगत वा तहगत मध्ये कुनै एउटा प्रणालीमा व्यवस्थित गर्न, वि.सं.२०४९ साल कार्तिक २१ गते अगाडी नियुक्ति पाएका र ३० बर्ष सेवा अवधी पुरा गरेका निजामती कर्मचारीहरुले स्वेच्छिक अवकास लिंदा सेवा अवधी थप गर्ने साविकको व्यवस्था कायम गर्न, स्वास्थ्य सेवाको छैठौं र आठौंमा विज्ञापन हुने व्यवस्था सुनिष्चित गर्न, निजामती सेवा ऐन २०४९ को दोस्रो संशोधन अनुसार तीनै तहमा सेवा शर्त र सुविधा यथावत कायम गर्न, साविक स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको उचित व्यवस्थापन गर्न, एउटै श्रेणीमा १५ बर्ष निरन्तर सेवा अवधी पुरा गरेका कर्मचारीलाई १ श्रेणी वा तह माथि बढुवा गर्ने साविकको प्रावधानलाई यथावत कायम गर्न, मागपत्रमा नसमेटिएका कुराहरु निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रिय कार्य समितिले गरेका माग नै समर्थन गरिएकोले सो पुरा गर्न ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षण पत्रमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष राजकुमार हुमागाई, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष सरदचन्द्र थापा, नेपाल निजामती कर्मचारी युनियनका संघका अध्यक्ष परशुराम थापा, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष राम बहादुर तामाङले हस्ताक्षर गर्नु भएको छ ।





