2026 April 22/ 10:24: 03pm

आर्थिक विधेयक र नीति तथा कार्यक्रम स्विकृत
धुलिखेल/धुलिखेल नगरपालिकाको सातांै नगर सभाको दोश्रो बैठक नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको छ । बैठकले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको १ अर्ब ११ करोड ११ लाख ११ हजारको बजेट पास गरेको छ । 
सभामा उपप्रमुख विमलाकुमारी चौलागाई शर्माद्वारा आर्थिक वर्ष २०७५÷०७६ को यथार्थ तथा २०७६÷०७७ को संशोधित स्थिति समीक्षा प्रगति प्रतिवेदन र धुलिखेल नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक विधेयक सभाका सदस्यहरुको छलफल पछि सर्वसम्मत पास भएको छ । त्यस्तै नगर प्रमुख अशोक ब्याञ्जुद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पनि छलफल पछि सर्वसम्मतले पास भएको छ । उपप्रमुख विमला शर्मा चौलागाईले प्रस्तुत गर्नु भएको विनियोजन विधेयक माथीको छलफल जारी छ । नगर सभाको असार २१ गते आईतबार बसेको तेश्रो बैठकबाट उक्त विधेयक सर्वसम्मतिले पास भएको छ भने सभासद्हरुले नगरपालिकाका समग्र गतिविधिका बारेमा शुन्य समयमा आफ्नो धारणा प्रस्तुत गरेका छन् । सभामा नगरपालिका भित्र उत्पादन हुने दिशाजन्य लेदो ब्यवस्थापन नीति २०७७ टेबुल गरिएको थियो । उक्त नीति पनि पास भएको छ । नगरको छैंटौ सभामा प्रस्तुत भएको बन सम्वन्धी विधेयक समितिका संयोजक पुष्प राउतले प्रस्तुत गर्नु भएको थियो । उक्त विधेयक संशोधन सहित पास भएको थियो । उक्त विधेयक पास गरेसँग छैंटौं सभा सम्पन्न गरिएको थियो ।
सातौं नगर सभामा नगर प्रमुख अशोककुमार ब्याञ्जूले कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, पूर्वाधार र गरिबी निवारणलाई प्राथमिकता दिएको बताउनु भयो । बजेट सीमाबाट चालू खर्च ५१ करोड ४ लाख ४० हजार अर्थात ४५.९४ प्रतिशत र पूँजिगततर्फ ६० करोड ६ लाख ७१ हजार अर्थात ५४.०६ प्रतिशत हुने गरी बाँडफाँड गरिएको छ । मेयर गरिबी निवारण कार्यक्रम, प्रत्येक नगरबासीको घरमा एकघर एकधारा, उपमेयर महिला उत्थान कार्यक्रम, उपमेयर सुत्केरी प्रोत्साहन कार्यक्रम, धुलिखेलको आवाजः छुवाछुत मुक्त समाज, विद्यार्थी शिक्षक साप्ताहिक भेटघाट, मेयरसँग विद्यार्थी, बालमैत्री नगर घोषणा, पूर्ण स्वस्थ शहर अभियान, १५ शैयाको सरुवा रोग सम्बन्धी अस्पताल स्थापना, मृगौला विरामीका लागि डाईलोसिस सेवा विस्तार, कोभिड कोषमा जम्मा भएको १ करोडमा थप ५० लाख, एक वडा एक उत्पादन, एक वडा एक नमुना सहकारी, एक सहकारी एक उत्पादन कार्यक्रम, एक खेलमैदान, एक पोखरी, एक नर्सरी र एक बाल उद्यान, मिडिया सेन्टरको स्थापना लगायतका महत्वपूर्ण कार्यक्रमहरु बजेटमा समेटिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । 
कोरोना रोगको जोखिमलाई मध्यनजर गरी ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिक १५८४ जना, ६० वर्ष माथिका दलित ज्येष्ठ नागरीक ८५ जना र पूर्ण अपाङ्गता भएका व्यक्ति ७७ जना गरी जम्मा  १७४६ जनाको रु ५० हजार बराबरको र नगरपालिका भित्र सरसफाइको लागि काम गर्ने २० जना सरसफाईकर्मीको १ लाख बराबरको कोरोना वीमा गरिएको, नगरपालकाले लिने सबै प्रकारका व्यवसाय करमा लकडाउन अवधीभरको राजश्वमा दामासाहीले छुट दिईएको, नगरपालिकालाई तिर्न बुझाउन पर्ने सबै प्रकारका कर बक्यौता २०७७ आषाढ मसान्त सम्म बुझाएमा बक्यौतामा लाग्ने हर्जाना र जरिवाना शतप्रतिशत छुट दिइएको नगर प्रमुख ब्याञ्जुले उहाँले बताउनु भयो । नगरपालिकामा ५ करोड लगानीमा ६ सय सिट क्षमताको सभा हल निर्माण तथा २ करोड लागतमा पर्यटकीय दृष्टिले महत्वपूर्ण देवीस्थान पार्कको निर्माण, धुलिखेलको मुख्य बजारमा सपिङ्ग कम्प्लेक्स निर्माण कार्य निर्माण, धुलिखेल मनोरञ्जन पार्कमा कोशेलीघर तथा पसल कवल निर्माण गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । शैक्षिक हब, स्वस्थ शहर, बालमैत्री नगर जस्ता महत्वपूर्ण कार्यक्रममा नगरपालिकाले ध्यान दिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।