2026 April 22/ 08:32: 00pm

धुलिखेल/धुलिखेल नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा वर्डफ्लु रोग तथा जुनोटिक रोग सम्वन्धी प्राविधिक समितिको सहयोगमा धुलिखेल नगरपालिका क्षेत्र भित्र रहेका मासु पसलहरुको अनुगमन गरिएको छ । 
नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न बैठकले नगर क्षेत्र भित्र रहेका मासु पसलहरुको सेवाको गुणस्तरलाई अझै प्रभावकारी बनाई नागरिकहरुको स्वास्थ्य प्रति सचेत रहन भएका प्रविधिलाई अझै सहज र सरलीकरण गर्ने उद्देश्यले बजार अनुगमन गर्ने निर्णय गरेको थियो । समितिको पहिलो बैठकले नगरपालिका क्षेत्र भित्रको वडा नम्वर ७ मा रहेका ११ वटा मासु पसलको अनुगमन गरिएको थियो । अनुगमनमा धुलिखेल नगरपालिका, पुश सेवा शाखा पशु विज्ञ केन्द्र, खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धुलिखेल उद्योग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो । 
दर्ता नभएका पसलहरुलाई सात दिन भित्र दर्ता गर्न, प्यान लिन बाँकी पसलहरुले सात दिन भित्र प्यानमा दर्ता हुन, डिजिटल तराजुको प्रावधान कायम गर्न, बिग्रिएको टायल मर्मत गर्न, सिसा वा जाली भित्र मासु राख्ने ब्यवस्था मिलाउन, पार्टेशन गर्नु पर्नेले एक महिना भित्र पार्टेशन सकिसक्न, फ्रिजको सरसफाई गर्न र नियमित संचालन गर्न, पसलको सरसफाई र सफा पानीको प्रयोग गर्न निर्देशन दिईएको छ । पशुको बध गर्दा उचित सरसफाईमा ध्यान दिएर उपभोक्ताको स्वास्थ्यमा ध्यान पु¥याउन समितिले निर्देशन दिएको छ । अनुगमन गर्न उपप्रमुख विमला शर्माको नेतृत्वमा समितिका सदस्यहरु सहभागि भएका थिए । बैठकमा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल, पशु विकास अधिकृत राजकुमार हुमागाई, पशु सेवा प्राविधिक हरिहर हुमागाई, बद्रिप्रसाद तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।