2026 April 22/ 09:00: 23pm

धुलिखेल/६९ औं मदन भण्डारी जन्म जयन्तीको अवसरमा राष्ट्रिय युवा संघ नेपाल काभ्रे र अनेरास्ववियू काभ्रेको संयुक्त आयोजनामा जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण र पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 
    धुलिखेल नगरपालिका वडा नम्वर ९ काभ्रे भञ्ज्याङ्गमा धुलिखेल नगरपालिकाले निर्माण गरेको मदन भण्डारीको शालिकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवं काभ्रे ईन्चार्ज तथा पूर्व मन्त्री संघीय सांसद् गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । भण्डारीको शालिकमा माल्यापर्णसँगै बृक्षारोपण कार्यक्रममा बोल्दै नेकपा नेता बास्कोटाले भण्डारी सिद्धान्तका, विचारका अविचलित नेता भएकाले उहाँको अवसान भए पनि विचार सधै अमर रहेको बताउनु भयो । ‘ढुंगा नबोल्ला, शालिक ढालिएलान् तर मदन भण्डारीको विचार कसैले ढाल्न सक्दैन’–नेता बास्कोटाले भन्नुभयो–‘जनताको मन र मस्तिकको विचार भएकाले कसैले ढाल्न सक्दैन ।’ जनताको जीवनसँग जोडिएर भण्डारीका विचारलाई समृद्ध बनाउनु पर्ने बास्कोटाले बताउनु भयो । भण्डारीसँगै नेता जीवराज आश्रितले देखाएको परिवर्तन र गतिको यात्रामा निरन्तर लाग्ने उहाँले बताउनु भयो । 
    मदन भण्डारी पार्क, धुलिखेल ११ काभ्रे भञ्ज्याङमा आयोजित कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल काभ्रेका संयोजक बिक्रम चौलागाईं, अनेरास्ववियुका संयोजक उपेन्द्र शर्मा लगायतले भण्डारीका विचारसँगै उहाँले प्रतिपादन गर्नु भएको सिद्धान्तलाई ब्यवहारतः प्रयोग गर्नुपर्ने बताउनु भयो । १ सय ५० वटा विरुवाहरुको बृक्षारोपण गरिएको उक्त क्षेत्रलाई अझै हरियाली र मनोरञ्जनका हिसाबले पनि उत्कृष्ट बनाउने गरी पार्कलाई अझै ब्यवस्थित बनाउने वडा अध्यक्ष विष्णु काभ्रेलीले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा नेता एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेललाई ऐतिहासिक, सांस्कृतिक, धार्मिक र राजनीतिक रुपमा इतिहास निर्माण गरेका ब्यक्तित्वहरुको शालिक सहितको पार्क निर्माण गर्ने कार्य धमाधम भईरहेको बताउनु भयो । एक वडा एक पार्क, एक पोखरी, एक उद्यान निर्माण गर्ने अभियान अन्र्तगत उक्त कार्य भईरहेको उहाँले बताउनु भयो ।