बनेपा/नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, बागमती प्रदेश, जिल्ला शाखा र प्रेस काउन्सिल नेपालको आयोजनामा धुलिखेलमा बागमती प्रदेश स्तरीय कोरोना संक्रमणमा पत्रकारहरुको भोगाई, अवस्था र आचार संहिताका बारेमा अन्र्तक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले पत्रकारुको क्षमता र गुणस्तर बढाउँदै सुचनाको पहँुचमा नागरिकहरुलाई थप शशक्त बनाउने अभियानमा स्थानीय सरकार र पत्रकार महासंघसँग समन्वय गर्ने बताउनु भयो । पत्रकारिता क्षेत्र भित्र रहेका केहि विषयलाई महासंघले सुधार्दै विशुद्ध पत्रकारहरुकै छाता संगठन बनाउन निरन्तर लाग्न उहाँले आग्रह गर्नु भयो । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुले जस्तोसुकै विपत्तिमा पनि नागरिकहरुलाई निरन्तर सूचना प्रवाह गरिरहेको बताउनु भयो । प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले कोरोनाको महामारीका बीच नागरिकहरुलाई सूचना दिईरहेका संचारकर्मीहरुको मनोबल उच्च बनाउन आवश्यक कार्य गर्नु पर्ने बताउनु भयो । पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव कृष्ण सारु मगरले संचालन गर्नु भएको थियो । सोहि कार्यक्रममा जिल्लबाट सहभागि पत्रकारहरुले कोरोनाका बाबजुत भएका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका दिपक खनाल, राधेश्याम अधिकारी, सविता ढकालले सहजीकरण गर्नु भएको थियो । उद्घाटन सत्रमा पत्रकारहरुले जिल्लाको भोगाईका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको दोश्रो सत्रमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, बागमती प्रदेश सरकारका रजिस्टार रेवती सापकोटा, प्रेस काउन्सिलका दिपक खनाल, बागमती प्रदेश पत्रकार महासंघका महासचिव कृष्ण सारु मगरले पत्रकारहरुले उठाएका जिज्ञासका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको सहजिकरण प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारीले गर्नु भएको थियो ।





