2026 April 22/ 07:24: 37pm

धुलिखेल/धुलिखेल नगरपालिकाले नगर क्षेत्र भित्रको शान्ति सुरक्षालाई थप मजबुत बनाउन सिसि क्यामेरा जडान गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको समन्वयमा नगरपालिकाले सिसी क्यामेरा जडान गर्न लागेको हो । 
    पर्यटकिय नगरी धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटक र नागरिकहरुको सुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । शहरी तथा ग्रामिण क्षेत्र, राजमार्गका प्रमुख क्षेत्रहरुमा सिसि क्यामेरा जडान गरी त्यसको मनिटर तथा रेखदेख प्रहरी कार्यालय मार्फत हुने एसपी रवि पौडेलले बताउनु भयो । पहिलो चरणमा केहि क्यामेरा जडान गरिएको छ । नगरपालिकाले क्यामेरा जडानका लागि २० लाख बजेट विनियोजन गरेको छ । 
यस अघि नगरपालिकाले शहरका विभिन्न क्षेत्रमा निशुल्क वाईफाईको ब्यवस्था गरेको थियो । पार्कहरुको निर्माण, सडक, खानेपानी, सिंचाई, विद्युत्त, पुर्ननिर्माण, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा नगरपालिकाले विभिन्न योजना सम्पन्न गरिसकेको छ । संस्कृति, इतिहासको संरक्षण गर्ने, नेपाल एकिकरणमा योगदान पु-याउने ब्यक्तिहरुको स्मरणका लागि शालिक निर्माण जस्ता कार्यमा नगरपालिकाले विशेष ध्यान दिएको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो ।