2026 April 22/ 08:32: 00pm

धुलिखेल नगरपालिकाले कोरोनाबाट थिलथिलो बनेका ब्यवसायी, सर्वसाधारण, जेष्ठ नागरिक तथा फोहोरमैला क्षेत्रमा कार्य गर्ने कर्मचारी र फ्रन्ट लाईनमा खटिने स्वास्थ्यकर्मीहरुका लागि विशेष सहुलियतको ब्यवस्था गर्ने निर्णय गरेको छ । विशेष गरी ब्यवसायीहरुका लागि कर छुट गर्ने निर्णय गरेको छ । 
नगर प्रमुख अशोक ब्याञ्जुले नागरिकहरुको सुविधाका लागि लकडाउन अवधीको सबै ब्यवसायमा लाग्ने कर छुट गरिएको बताउनु भयो । ‘लकडाउनका कारण ब्यापार ब्यवसाय ठप्प छ, सर्वसाधारणको असहजतालाई हामीले ध्यानमा दिदै उक्त अवधीको कर छुट दिने निर्णय गरेका हौं’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘देविस्थान मन्दिर तथा बसपार्क क्षेत्रमा लगाएको करमा समेत लकडाउन अवधी भर छुट दिने निर्णय गरेका छौं ।’ लकडाउनले सर्वसाधारणलाई समेत असर पु¥याएकाले पुरानो कर तिर्न बाँकी ब्यक्ति तथा संघ संस्था र फर्महरुलाई असार मसान्तसम्म बुझाएको अवस्थमा लाग्ने हर्जना मिनाहा गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । 
त्यस्तै धुलिखेल नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका ७० वर्ष पुगी सामाजिक सुरक्षा भत्ता प्राप्त गरिररहनु भएका १ हजार ७ सय २० नागरिकहरुको कोरोना विमा गरिदिने निर्णय गरेको छ । त्यस्तै ७७ जना पूर्ण अपाङ्गता भएका ब्यक्तिहरुको कोरोना विमा गरिनेछ । नगर भित्रका जेष्ठ नागरिकहरुको ५० हजार रुपैयाको कोरोना विमा गरिदिने धुलिखेल पहिलो नगरपालिका हो । त्यस्तै दलित समुदायको हकमा ६० वर्ष पुगेका जेष्ठ नागरिकहरुको कोरोनाविमा गरिदिने निर्णय गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले नगरपालिकाले कोरोना राहत कोषमा १ करोड रुपैया जम्मा गर्ने निर्णय गरेको बताउनु भयो । नगरपाकिलाले नगर क्षेत्र भित्र महामारी फैलन नदिन र कोरोना बाट नागरिकहरुलाई बचाउन १ करोडाको राहत कोष बनाई नागरिकहरुलाई सेवा प्रदान गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत लुईटेलले बताउनु भयो । 
त्यस्तै धुलिखेल नगरपालिकाले फोहोर ब्यवस्थापनमा खटिएका फोहोरमैला ब्यवस्थापकहरुको विमा गरेको छ । ‘नियमित फोहोरमैला ब्यवस्थापनमा खटिएका ब्यवस्थापकहरुलाई कोरोना भाईरसबाट बचाउन सुरक्षाका लागि पिपिई सेट उपलब्ध गराएका छौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘सुरक्षा अपनाउँदा अपनाउँदै कोरोना संक्रमण भएको अवस्थामा विमा बापतको रकम उपलब्ध हुने गरी मनोबल उच्च राख्न विमा गरेका छौं ।’