2026 April 22/ 07:24: 38pm

धुलिखेल/’सेनाको मान्छे हुँ, सस्तोमा राशन सामान उपलब्ध गराइदिन्छु’ भन्दै ठगी गर्ने समुहलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्वर ४ का चार जना रहेका छन् । 
प्रहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्वर ४ बस्ने ३१ वर्षीय केवल राई सुनुवार, वडा नम्वर ५ बस्ने २४ वर्षीय रामबहादुर तामाङ, वडा नम्वर ४ बस्ने ३७ वर्षीय भीम माहाजु र तनहुँ जिल्ला भानु नगरपालिका १२ बस्ने ४८ वर्षीय अमर अधिकारी छन् । पक्राउ परेकामध्ये मुख्य योजनाकार भीम महाजू रहेको अनुसन्धानबाट खुलेको छ । उनकै योजना र निर्देशन बमोजिम अन्य व्यक्तिले भूमिका निर्वाह गरेको पाइएको छ । भीम महाजुले आफू सेनाको कर्णेल हुँ भनी पीडितसँग फोनमा कुरा गर्ने गरेका थिए भने अन्यले महाजूको निर्देशनमा काम गर्दै आएका थिए । प्रहरीका अनुसार उनीहरूले जेठ २८ गते धुलिखेल नगरपालिका वडा नम्वर ८ थाक्लेमा होटल व्यवसाय गरी बस्ने चन्द्रकुमार लामालाई विष्णुदल गण धुलिखेलमा कार्यरत नेपाली सेनाको क्याप्टेन हुँ हामीसँग स्टोरमा रहेका सामानहरू चामल, चिनी, तेल, बियर, नुन तपाईंलाई सस्तोमा मिलाइदिन्छु भन्दै पाँच लाख ६९ हजार २१० रुपियाँ मागेका थिए । लामाले सामान नल्याई पुरा पैसा नदिने बताए पछि आधा रकम दिएमा मात्र सामान ल्याउने भन्दै विश्वास दिलाएर दुई लाख ५० हजार रकम र उनको स्कुटर लगेका थिए ।
उनीहरूले विष्णुदल गण ब्यारेक धुलिखेल काभ्रेपलाञ्चोक रासन स्टोर विभागको नक्कली पत्र देखाउने गरेका थिए । उनीहरूले नगद र स्कुटर लिएर फरार भए पछि पीडितले जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा निवदेन दिएका थिए । उनीहरूलाई ठगीसम्बन्धी कसूुर अन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।