बनेपा/बजार र भाउ नपाएपछि खेतबारीमा नै रहेका तरकारी पा“चखालका युवाहरुले संकलन गरी विभिन्न संस्थालाई सहयोग गरेका छन् । लकडाउनका कारण खपत नभएको भन्दै तरकारी खेतबारीमा नै अलपत्र परेपछि युवाहरुले संकलन गरी काभ्रे र उपत्यकाका विभिन्न बृद्धाश्रम, वालगृह लगायतमा सहयोग गरेका हुन् ।
काभ्रेस्थित हेल्प नेटवर्कको वालगृह, प्राणनाथ माइती बृद्धाश्रम, दलित उत्पीडित कल्याण संघले सञ्चालन गरेको ह्याप्पी चिल्ड्रेन होम, काठमाडौंस्थित आमा घर, मानव सेवा आश्रम, कान्तिभैरव गुरुकुल, ह्याप्पी होम लगायतका अनाथालय, बालगृह र बृद्धाश्रममा १ मिनिट्रक ताजा तरकारी सहयोग गरेका थिए । सिजन अनुसार, गोलभेडा, सिमी, बोडी, भेडेखोर्सानी, पिरो खोर्सानी, बन्दा, फर्सी, आलु लगायतका तरकारी छन् ।
पा“चखालका विक्रम राईलाई घरमा उत्पादित तरकारी नबिकिरहेको थाहा थियो । बजार र भाउ दुवै नपाएर चिन्तित उनले साथीहरुसंग सल्लाह गरे, ‘बाड्नुपर्छ की क्या हो’ । ‘लकडाउनको कारण विक्दैन भनेर तरकारी खेतबारीमा नै थिए, साथीहरुविच छलफल गर्यौं बाड्नुपर्छ की भनेर,’ उनले भने, ‘किसानहरुलाई अनुरोध गर्यौं, खुशी भएर दिनुभयो अनि अन्य व्यवस्थापन गरेर असहायहरुलाई सहयोग गयौं ।’ तरकारी सहयोग गर्ने योजना बनाएपछि उनीहरुले फेसबुकमा एउटा ग्रुप बनाए, ‘सहयोगका लागि हामी’ । सोही समुहमार्फत सम्पर्क गरेर उनीहरुले काठमाडौंमा बालमन्दिर, बालगृहहरु, बृद्धाश्रम, राष्ट्रिय आविष्कार केन्द्र लगायतका ११ संस्थालाई ताजा तरकारी सहयोग गरेका थिए । युवाहरुको अभियानलाई सघाउन पा“चखाल – ४ का अध्यक्ष सुन्दर तामाङले ढुवानी भाडा सहयोग गरेका थिए । ‘फा“टमा तरकारी असरल्ल छ, विक्री र भाउ दुबै छैन,’ सहयोग अभियान चलाइरहेका तिनपिप्ले युवा क्लवका अध्यक्ष सरोज धिताल भन्छन्, ‘कही खेर गएको छ, कसैले खान पाएका छैनन् भनेपछि संकलन गरेर सहयोग गर्ने निर्णय गर्यौं, किसानहरु धेरै खुशी भएर सहयोग गर्नुभएको छ ।’ परिवारका सदस्य र अन्य कृषकलाई आफ्ना योजना सुनाएपछि मन खोलेर सहयोग गरेका छन् । चामल, नुन, मस्यौरा लगायतका खाद्यान पनि सहयोग गरेका उनीहरुको अभियान देखेर स्थानीय दाताहरुले सहयोग गरेका थिए ।





