धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ३ स्थित कुत्ताल गुम्बा निर्माण उपभोक्ता समितिको आयोजनामा पार्क र निर्माण कार्य शुभारम्भ भएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले गुम्बा र पार्क निर्माण कार्यको शिल्यान्यास गर्नुभयो ।
शिल्यान्यास कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेलाई पर्यटनमैत्री, सांस्कृतिक, धार्मिक र ऐतिहासिक नगर निर्माण गर्न हरेक वडामा बार्षिक एउटा पार्कका दरले पाँचवटा र नगर स्तरीय पार्क निर्माण गर्ने अभियानका साथ धार्मिक पार्क निर्माणका लागि नगर र वडा मार्फत साझेदारीमा कार्यहरु गरिरहेको बताउनु भयो । उपप्रमुख विमला शर्माले लकडाउनका बाबजुत पनि नगरपालिकाले आफना कार्यहरुलाई सूचारु गरिरहेको बताउनु भयो । वडा सदस्य हिराबहादुर तामाङले वडाका हरेक क्षेत्रको विकासका लागि नगरपालिका र वडा स्तरीय बजेट मार्फत नागरिकहरुका समस्या समाधान गर्ने बताउनु भयो ।
वडास्तरीय बजेट मार्फत ३ लाख, नगरस्तरीय बजेटबाट ३ लाख गरी ६ लाख रुपैया र जनश्रमदान गरी ७ लाख भन्दा धेरै खर्च गरी गुम्बा र पार्क निर्माण गर्न लागिएको हो । उपभोक्ता समितिमा अध्यक्ष इन्द्रबहादुर तामाङ, सचिव प्रकाश लोप्चन लगायत छन् । असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी कार्य शुरु गरिएको सचिव प्रकाश लोप्चनले जानकारी दिए । शिल्यान्यास कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, कार्यपालिका सदस्य सञ्जु तामाङ, न्यायिक समिति सदस्य गणेश आचार्य, बडा सदस्य हिराबहादुर तामाङ, बडा सदस्य रिता बराईली, स्थानीयहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागि थिए ।





