2026 April 22/ 05:47: 54pm

धुलिखेल/कोरोना भाईरसका कारण लकडाउनको अवधीमा अपराधका घटना हुन नदिन प्रहरी सचेत भएको छ । लकडाउनकै कारण अभाव र समस्या बढिरहेका बेला प्रहरीले बाख्राको खोरबाट खसीबोका चोरी गर्ने दुई युवालाई पक्राउ गरेको छ । खसीबोका सहित उनिहरुले बोलेरो गाडी समेत चोरी गरेका थिए ।  
    ‘ब्यक्तिले पालिरहेको बाख्राको खोरबाट तीनवटा बोका र चारवाटा बाख्रा चोरी गर्ने दुई युवालाई पक्राउ गरेका छौं’–एसपी रविकुमार पौड्यालले भन्नुभयो–‘लकडाउननको फाईदा उठाउँदै युवाहरुले बाख्रा खोरमा प्रवेश गरी घरधनीलाई पत्तै नदिई बाख्रा र बोका चोरी गाडीमा राखेर विक्री गर्न लैजाँदै गर्दा घरधनीको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’ जेष्ठ १४ गते रोशी गाउँपालिका वडा नम्वर ७ स्थित विवेक तामाङको बाख्रा खोरबाट दिउँसो चार बजेको समयमा रोशी गाउँपालिका वडा नम्वर ८ बस्ने २२ बर्षिय सजिन शाह ठकुरी र धुलिखेल नगरपालिका वडा नम्वर १ घर भएका २७ बर्षिय डिलबहादुर तामाङले बाख्रा र खसी सहित बा १६ च ८८३० नम्वरको बोलेरो गाडी चोरी गरेका थिए । चोरी गर्ने युवाहरुले बा १४ च ६८५७ नम्वरको बोलेरो गाडीमा राखेर विक्री गर्न लैजादै थिए । 
ईलाका प्रहरी कार्यालय मंगलटारले उक्त समुहको खोजी गर्ने क्रममा सोहि दिन राति कानपुरबाट भकुण्डेतर्फ आउँदै गरेको बा १६ च ८८३० नम्वरको बोलेरो गाडी चेकजाँच गरी ३ वटा खसी र बोका, ४ वटा बाख्रा फेला पारेको थियो । तत्काल सवारी चालकलाई सोधपुछ गरी बोका बाख्रा रोशी गाउँपालिका स्थित विवेक तामाङको घरबाट चोरी गरी ल्याएको बताएका थिए । प्रहरीले तत्काल गाडी सहित बाख्रा खसी बोका बरामद गरी जिल्ला पठाए सँगै विहिबार जेष्ठ १५ गते चोरी तथा डाँका सम्बन्धि कसुर अपराधमा मुद्दा दर्ता गरी पहिलो पटक काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट भिडियो कन्फरेन्सबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कुमार बिक्रम थापाले जानकारी दिनु भयो ।