2026 April 22/ 06:59: 31pm

रोशी/अकस्मात परेको पानीले रोशी खोलामा आएको बाढीमा फसेका ६० बर्षीय बृद्धलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राति उद्धार गरेको छ । बृद्ध दिउँसो पानी नपरेकाले खोलामा माछा मार्न गएको परिवारले जानकारी दिएका छन् । 
    नमोबुद्ध नगरपालिका वडा नम्वर ६ खाक्सी स्थित रोशी खोलामा आएको बाढीमा फसेका बृद्ध पञ्चलाल तामाङलाई सुरक्षाकर्मीहरुको संयुक्त टोलीले लगातार दुई घण्टाको प्रयास पछि उद्धार गरिएको थियो । एक्कासी खोला बढे पछि पञ्चलाल अग्लो ढुंगामा गएर बसेका थिए । चारैतिर खोलाले ढाकेपछि ढुंगा समेत पुरिन लागेको थियो । पञ्चलालको त्यो अवस्था भएको तत्काल स्थानीय र आफन्तहरुले देखे पछि सुरक्षा निकायमा खबर गरिएको थियो । बुहारी चन्द्रमायाका अनुसार पञ्चलाल १ बजे माछा मार्न घरबाट निस्केका थिए । दिउँसो साँढे चार बजेको समयमा स्थानीयले थाहा पाएकाले उद्धारका लागि सुरक्षा निकायलाई खबर गरिएको थियो ।
    विष्णु दल गण धुलिखेलका प्रमुख सेनानी गणपति सुबास खड्काले बाढीमा फसेका पञ्चलालको राति अबेर सकुशल उद्धार गरिएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडेलले नेपाली सेना र प्रहरीको टोलीले खोलामा फसेका बृद्धको उद्धार गरिएको बताउनु भयो । 
त्यस्तै काभ्रे जिल्ला रोशी गाउँपालिका ३ शिखर आम्बोटे बस्ने ८० बर्षिय चमार सिं लामा, बर्ष ४५ की ईन्द्र माया लामा रोशी खोलामा दुबै तर्फबाट आएको बाढीको कारण बिचमा फसे पछि प्रहरी चौकी खहरेपाँगुबाट खटिएको प्रहरी र स्थानियहरुद्धारा सकुसल उद्धार गरिएको छ । उक्त वर्षाबाट पनौती नगरपालिका स्थित पुन्यमाता खोलामा बाढी आई बजार लगायत पनौती नगरपालिका वडा नम्वर ४, ५, ६, ७, ८ र ९ वडाहरुमा बाढी आई क्षती भएको, रोशी खोलामा रहेको पक्की मानिस मात्र हिड्ने पुल २ (दुई) वटा बगाई पूर्ण रुपमा क्षती भएको, सडक छेउमा पार्किङ गरि राखेको बा.५.ख ३६८९ नं.को निशान ट्रक २०० मिटर बगाई आंशिक रुपमा क्षति भएको छ ।