धुलिखेल/रुकुमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको सामूहिक हत्याको विरोधमा जिल्ला स्थित विभिन्न संघ संगठनहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । जातीय संगठनसँगै अनेरास्ववियु काभ्रेले पनि सोहि घटनाको विरुद्धमा ज्ञापन पत्र बुझाएको छ ।
गम्भीर प्रकारको जातीय विभेद तथा मानव अधिकारको चरम उल्लंघनको घटनाप्रति नेपाल उत्पीडित जातीय मुक्ति मुक्ति समाजका अध्यक्ष खड्गबहादुर पुर्काेटी, दलित मुक्ति मोर्चा नेपालका संयोजक बालकृष्ण पुर्काेटी, नेपाल दलित संघका अध्यक्ष उस्पर सुनार, नेपाल दलित मुक्ति मोर्चाका सचिव जीवन मंग्रातिले हस्ताक्षर गरेको ज्ञापन पत्र बुझाउन संविधान सभा सदस्य तेजबहादुर मिजार, मुक्ति मोर्चाका केन्द्रिय सदस्य विष्णु मिजार, नेकपा जिल्ला कमिटी सदस्य प्रकाश रोक्का, विष्णु मिजार ‘सागर’, मुक्ति समाजका जिल्ला सचिव तेज नेपाली लगायतको टोली प्रशासन कार्यालय पुगेको थियो । टोलीले यस्ता घटना दोहोरिन नदिन, घटनामा संलग्नलाई तत्काल कारवाही गरी पीडित परिवारलाई न्याय सहितको क्षतिपूर्ति उपलब्ध गराउन र बेपत्ताहरुको खोजी गर्न माग गरिएको छ ।
अनेरास्ववियुको तर्फबाट केन्द्रिय नेताहरु जेनिस लामा, शालिकराम पराजुली, हरिशचन्द्र घिमिरे, जिल्ला अध्यक्ष उपेन्द्र शर्मा, जिल्ला कमिटी सदस्यहरु मुकुन्द लामिछाने, सुमन जैरु, मिलन गौतम लगायतका नेताहरु सहभागी थिए । सहभागीहरुले धुलिखेलको सरस्वती पार्क देखि प्रशासन कार्यालयसम्म दबाबमूलक ¥याली प्रर्दशन गरेका थिए ।





