बनेपा/जिल्लामा रही विभिन्न पेशा र ब्यवसायमा संलग्न युवा ब्यवसायी सुमन भुजेलले स्थानीय सरकार मण्डनदेउपुर नगरपालिकालाई अत्यावश्यक सामाग्री पिपिई उपलब्ध गराउनु भएको छ । वीमा क्षेत्रको एजेन्सीहरुको विश्वब्यापी महासंघ (एमडीआरटी) का नेपाल सदस्य एवं युनियन लाईफ इन्स्योरेन्सका युवा ब्यवसायी सुमन भुजेलले ब्यक्तिगत खर्चमा उच्च सुरक्षाको पाँच थान पिपिई मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवालाई हस्तान्तरण गर्नु भएको हो ।
‘सरकारलाई ब्यक्तिगत रुपमा धेरै सहयोग गर्न सक्ने हैसियत नभए पनि क्षमता अनुसार खरिद गरी पिपई हस्तान्तरण गर्न पाउँदा सन्तुष्ट छु’–भुजेलले भन्नुभयो–‘तत्काल उद्धार र उपचारका लागि थोरै सहयोग पुग्ने विश्वास लिएको छु ।’ नगर प्रमुख टोकबहादुर वाईवाले सरकारलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भईरहेकाले सहयोगीहरुलाई कोरोना पूर्ण रुपमा नियन्त्रण भए सँगै संस्थागत रुपमा धन्यवाद दिने बताउनु भयो । यसअघि भुजेल सहित होटल ब्यवसायी महासंघका केन्द्रिय सदस्य एवं भिआईपी थकाली रेस्टुरेन्टका प्रोपाईटर कृष्ण श्रेष्ठ र भिआईपी रेष्टुरेन्ट बनेपाका प्रोपाईटर प्रकाश श्रेष्ठले ब्यक्तिगत खर्चमा विपद ब्यवस्थापन समिति काभ्रेपलाञ्चोका लागि १० थान र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना र महासंघ काभ्रेका कार्यसमिति सदस्य देवराज केसीलाई एक र एक थान पिपिई उपलब्ध गराउनु भएको छ । तिमल्सिना र केसीले तत्कालै उक्त पिपिई जिल्ला विपद् ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भएको थियो ।
त्यस्तै भुजेल र भिआईपी रेष्टुरेन्ट बनेपाका प्रोपाईटर प्रकाश श्रेष्ठको अगुवाईमा पनौतीमा रहेको दलित उत्पिडित कल्याण संघद्वारा संचालित ह्यापी चिल्ड्रेन होममा रहेका बालबालिकाहरुका लागि खाद्यान्न उपलब्ध गराईएको छ । भुजेल सहित भिआईपी रेस्टुरेन्ट बनेपाका प्रकाश श्रेष्ठ लगायतले ह्यापी चिल्ड्रेन होममा रहेका बालबालिकाहरुका साथै बनेपा र आसपासका क्षेत्रमा रही खाद्यान्न संकट भएका ब्यक्तिहरुका लागि राहत उपलब्ध गराईएको हो ।





