बनेपा/राष्ट्रिय मानव अधिकार आयोगले कोभिड १९ को सन्दर्भमा अधिकार ब्यवस्था अनुगमनका लागि नेटवर्क गठन गरी चार तहका समिति गठन गर्ने निर्णय अनुसार काभ्रेपलाञ्चोक जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन भएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको संयोजक तिमल्सिनाले जानकारी दिनुभयो । समितिमा नेपालबार एशोसिएसन, काभ्रे बार इकाईका अध्यक्ष देवकुमार मोक्तान, गैर सरकारी संस्था महासंघ, काभ्रेपलाञ्चोकका अध्यक्ष टोम सापकोटा रहनु भएको छ । समितिले आवश्यकता अनुसार सदस्य मनोनित गर्ने निर्णय गरेको छ । कार्यविधिमा २ सदस्य थप गर्न सक्ने ब्यवस्था छ । समितिको पहिलो बैठकले समिति गठन सँगै संयोजक चयन गरेको छ भने जिल्लाका गतिविधिहरु मानव अधिकार आयोग लगायतका सम्वन्धित संघ संस्थाहरुमा जानकारी गराउने निर्णय गरेको छ । बैठकले जिल्लामा कोभिड १९ को महामारी रोक्न घोषित लकडाउनको अवधीमा मानव अधिकारका समग्र क्षेत्रहरुको निरन्तर अनुगमन गर्ने निर्णय गरेको छ । जिल्लामा नागरिकहरुको उपचारका लागि जिल्ला स्थित अस्पताल, स्थानीय सरकारहरुले गरेको तयारी, क्वारेन्टाईन, आईसोलेसन, एम्बुलेन्स सेवा, राहत वितरण, अति आवश्यक बस्तुहरुको उपलब्धता, नागरिकहरुका दैनिक आवश्यकता लगायतका विषयमा अनुगमन गर्ने निर्णय भएको छ । साथै राष्ट्रिय मानवअधिकार आयोगले कोभिड १९ को सन्दर्भमा अधिकार ब्यवस्था अनुगमन नेटवर्कको कार्यविधि, २०७६ मा तोकेका अधिकार क्षेत्र भित्र रहेर अनुगमन, सहजिकरण र रिपोर्टिङ्ग गर्ने निर्णय गरेको छ । समितिको बैठक हरेक दिन राति ८ बजे भिडियो कन्फरेन्स मार्फत र आवश्यकता अनुसार उपस्थित हुँदा सामाजिक दुरी कायम राखी सुरक्षित साथ गर्ने निर्णय भएको संयोजक तिमल्सिनाले जानकारी दिनु भयो ।





