2026 April 22/ 04:06: 30pm

बनेपा/बेथान्चोक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षीय युवकमा कोरोना भाईरस संक्रमणको आरडिटी एन्टिबडी परिक्षणमा संक्रमण देखिए पछि युवाको सम्पर्कमा रहेका ४० ब्यक्तिहरुलाई एकै साथ आरडिटी परिक्षण गरिएको छ । 
युवाको स्वाब लिएर पिसिआर परिक्षणमा संक्रमण देखिएको थिएन । तर उनको इन्टिबडीमा संक्रमण देखिएका कारण युवा मार्फत अन्यमा संक्रमण फैलिएको हुन सक्ने आशंकामा अन्य ब्यक्तिहरुको पहिचान गरिएको हो । जिल्ला कमाण्ड पोष्ट काभ्रेका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार बेथान्चोकका युवासँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गरी कोरोना संक्रमण सम्वन्धी आरडिटी परिक्षण गरिने भएको हो ।  यसअघि नमोबुद्ध नगरपालिका वडा नम्वर ८ मा ६५ बर्षिय एक बृद्धको आरडिटी परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएकाले पिसिआर गरिएको थियो । पिसिआरमा उहाँमा संक्रमण नभएको पुष्टी भए सँगै उहाँसँग सम्पर्कमा रहेका अन्य आठ जना ब्यक्तिहरुको आरडिटी परिक्षण गरिएको थियो । परिक्षण गरिएको सबै ब्यक्तिहरुमा संक्रमण भएको नदेखिएको डा. झाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म चैत्र १ गते देखि विदेशबाट फर्किएका र आशंका लागेका अन्य ब्यक्तिहरुको आरडिटी परिक्षण गरिएको छ । 
धुलिखेल अस्पतालमा प्रयोगशाला शुरु भए सँगै टेकुबाट पठाईएका स्वाब धुलिखेलमा परिक्षण गरिएको हो । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कमाण्ड पोष्टका संयोजक श्रवणकुमार तिमल्सिनाले कोरोना भाईरस रोकथाम, नियन्त्रण, ब्यवस्थापनसँगै पहिचान र परिक्षणको कामलाई तिब्रता दिएको बताउनु भयो । जिल्लामा रहेका दुईवटा अस्पतालको १३ बेड आईसोलेसन र १३ वटा स्थानीय तहमा रहेका २ सय ९० बेडको क्वारेन्टाईन खाली रहेको छ ।