2026 April 22/ 03:29: 54pm

बनेपा/लकडाउनका कारण काठमाडौंमा रोकिएका सिन्धुलीका सात सयभन्दा बढी मानिसहरू मंगलबार गाउँ गएका छन् । काठमाडौंका विभिन्न ठाउँबाट हिँड्दै भक्तपुरको जगाती र काभ्रेको बनेपा आईपुगेका मानिसहरुलाई गाउँ पठाईएको हो । 
स्थानीय जनप्रतिनिधिले बनेपाको गणेश हिमाल तराई यातायतको समन्वयमा सिन्धुलीको स्थानीय तहसम्म पुग्ने गाडीको बन्दोबस्त गरेका थिए । एउटै गाउँ जाने मानिसहरू छुट्याएर गाडीको बन्दोबस्त गरी पठाएको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहराले जानकारी दिइन् । बनेपाको उग्रचण्डी होटलमा खानाको ब्यबस्था गरेपछि गणेश हिमाल तराई यातायत सेवा प्रालिका ९ वटा बस र बाँकी अन्य सवारी साधनमा मानिसहरुलाई पठाएको यातायात सेवा प्रालिका अध्यक्ष आत्माराम थापाले वताउनु भयो । गाउँपालिकाकी अध्यक्ष दिपा बोहोराको अनुरोधमा गाउँ जान चाहने मानिसहरुलाई सहयोग गरिएको थापाले बताए । त्यसै गरी काभ्रे बस प्रालि र महाभारत गाउँपालिकाको संयुक्त पहलमा महाभारत गाउँपालिका जाने मानिसहरुका लागी गाडीको ब्यबस्था गरी गाउँ पठाईएको छ । बुधबार बिहान ३ सय ५० जना मानिसहरुलाई गाउँ पठाएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो । गाउँमा कामको समय भएकाले जान चाहने वासिन्दाहरुलाई पठाइएको जिम्बाले वताउनु भयो । काभ्रे बस प्रालिका अध्यक्ष बर्ण शाक्यले गाउँ जान चाहने मानिसहरुका लागी गाउँपालिकाको समन्वयमा बसहरु जति आवश्यक भएपनि पठाउने बताउनु भयो ।