धुलिखेल/धुलिखेल नगरपालिका र धुलिखेल अस्पतालले सेवाग्रहीहरुको सुविधालाई ध्यानमा राखी नेपाल कोभिड–१९ निगरानी प्रणाली शुरु गर्ने भएका छन् । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस एक व्यक्तिवाट अर्काे व्यक्तिमा सजिलै सर्ने भएकाले उक्त रोगका लक्षणहरु समयमा नै पहिचान गरि अलग रहन उक्त प्रणाली उपयुक्त हुने विश्वास ब्यक्त गरिएको छ ।
आफूमा देखिएका लक्षणहरु कोरोना रोगको हो कि होइन भनेर छुट्याउन साथै सम्भावित संक्रमितहरुको निगरानी गर्न स्वास्थ्य तथा सूचना प्रविधिका क्षेत्रमा कार्यरत संघ संस्थाहरुको संयुक्त प्रयासमा विकास गरिएको नेपाल कोभिड–१९ निगरानी प्रणालीलाई धुलिखेल नगरपालिका तथा काभ्रे जिल्लाभरी लागु गर्ने गरी तयारी गरिएको नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जुले जानकारी दिनुभयो । उक्त प्रणाली मार्फत लक्षणहरुका आधारमा कोरोना संक्रमणको स्वमूल्यांकन गर्न, स्वमुल्यांकन मार्फत सम्भावित लक्षण देखिएका व्यक्तिहरुलाई तुरुन्त चिकित्सकहरुले फोन सम्पर्क गरि आवश्यक परामर्श दिने, स्वमूल्यांकन तथा फोन परामर्श पश्चात रोगको सम्भावना उच्च देखिएका व्यक्तिहरुलाई एम्वुलेन्सको व्यवस्था गरि खकार तथा स्वाब परिक्षणका लागि तोकिएको अस्पताल लैजाने, भौगोलिक सूचना प्रणालीको माध्यमबाट सम्वन्धित निकायलाई संक्रमण नियन्त्रणका लागि थप उपायहरु अवलम्वन गर्न सहयोग गर्नेछ ।
उक्त प्रणाली काठमाडौं महानगरपालिकामा पूर्ण रुपमा लागू भएको छ । यो प्रणालीलाई देशभर लागू गर्दा कोरोनाको संक्रमणलाइ घटाउन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । उक्त प्रणालीका बारेमा छलफल गर्न आयोजित भिडियो कन्फरेन्समा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, भुषणराज श्रेष्ठ, लोचन अमात्य, रमेश मर्हजन, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, धुलिखेल अस्पतालका डा. आभा श्रेष्ठ, धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्षहरु, वडा सदस्यहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । उक्तप प्रणाली लागु गरी नागरिकहरुलाई उक्त लिंकमा सहभागी गराउन सकेको अवस्थामा महामारी नियन्त्रण गर्न उल्लेख्य सहयोग पुग्ने प्रणालीका निराजन पराजुलीले बताए ।





