कोभिड विरुद्ध लड्ने प्रतिबद्धता
धुलिखेल/अरनिको र विपी राजमार्ग हुँदै साता लामो गन्तब्यमा कष्टकर यात्रामा निस्किएका पैदलयात्रुहरुलाई जहाँ बसिरहेका छन् त्यहिबाट ननिस्कने गरी ब्यवस्थापन गर्न गृह मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत पहल गर्न संघीय र प्रदेश सांसद्हरुले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । तीनै तहका सरकारले बाटोमा अलपत्र परेका ब्यक्तिहरुलाई गन्तब्यसम्म पु¥याउन शुरु गरेको छ ।
जिल्ला विपद् ब्यवस्थापन समितिले आयोजना गरेको कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा भएको प्रगतिको समीक्षा कार्यक्रममा पहिलो पटक आयोजना गरिएको भिडियो सम्वाद मार्फत सांसद्हरुले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कमाण्ड पोष्ट, संकट ब्यवस्थापन केन्द्र गठन गरेको छ भने सहायक प्रजिअको संयोजकत्वमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति ब्यवस्थापन समिति गठन गरेको छ । त्यस्तै औषधी तथा स्वास्थ्य सामाग्रीको ब्यवस्थापनका लागि स्वास्थ्य कार्यालय काभ्र्रेका प्रमुख डा. नरेन्द्रकुमार झाको संयोजकत्वमा कमिटी गठन गरेको छ । विष्णु दलगण धुलिखेलका प्रमुख सेनानी सुवास खड्काको संयोजकत्वमा कोरोना संक्रमित विरामीहरुलाई अस्पतालसम्म ल्याउने र शब ब्यवस्थापन सम्वन्धी संकट ब्यवस्थापन कमिटी गठन गरेको छ । सोहि कमिटीहरुको बैठक तथा जिल्लामा भएका गतिविधिहरुका बारेमा जानकारी दिन समितिले सांसद्हरुलाई भिडियो संवादमा राखिएको थियो ।
‘हामी पनि पहल गर्छांै, पैदलयात्रुलाई बाटोमा रोकेर अलपत्र पार्ने काम नगरौं’–संघीय सांसद् गंगाबहादुर दोङ्ग बमध्वजले भन्नुभयो–‘जो संकटमा छन् उनिहरुलाई त्यहि ब्यवस्थापन गर्ने गरी काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत स्थानीय सरकारलाई अनुुरोध गरौं ।’ सांसद् दोङ्गको कुरामा प्रदेश सभा सदस्यहरु रत्न ढकाल, चन्द्र लामा, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, गोमा भुर्तेल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु सहमत हुनुभयो । उहाँहरु सबैको एउटै धारणा थियो–‘राजधानी तथा अन्य स्थानबाट सडकमा निस्किएका पैदल यात्रुहरुको तत्काल ब्यवस्थापन, गन्तब्यसम्म पुग्ने सहज तरिका अर्थात उनिहरु जहाँ बसेका छन् त्यहि स्थानमा बस्न सहज वातावरण बनाउन आग्रह गर्छाै ।’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउने क्रममा पैदल यात्रुहरुलाई सडकमा आवतजावतमा रोक लगाईएको बताउनु भयो ।
गृह मन्त्रालयले घर फर्किने ब्यक्तिहरुका लागि सडकमा देखिएका कारुणिक दृश्यहरुलाई ब्यवहारिक रुपमा नहेरेको भन्दै सांसद्हरुले तत्काल सम्बोधन गर्न माग गरेका थिए । राजधानीमा रहेका श्रमिक वर्ग अर्थात घर फर्किरहेका नागरिकहरुका बारेमा बेवास्ता गरेकोमा सांसद्हरुले आलोचना गरेका छन् । ‘भिडभाड रोक्न जरुरी छ, तर सडकमा अलपत्र पारेर ब्यक्तिको सुरक्षा र अधिकारकै हनन हुने गरी स्थानीय, प्रदेश र संघ सरकार गैह् जिम्मेवार बन्न हुँदैन’–सांसद् चन्द्र लामाले भन्नुभयो–‘राजधानीमै उहाँहरुको ब्यवस्थापन गर्ने कुरामा ध्यान दिनुपर्छ ।’ प्रदेश सांसद् रत्न ढकालले कोभिड १९ रोकथामका लागि जिल्लाका समस्याहरुको समाधानका लागि आवश्यक सामाग्रीको सूची बनाउन र कृषकहरुका समस्यामा ध्यान दिन जरुरी रहेको बताउनु भयो । सांसद् लक्ष्मण लम्सालले राजमार्गमा पैदल हिड्नेहरुले मात्रै नभई स्थानीय स्तरमा लकडाउनको कार्यान्वयन नभएकोमा भूमिका बढाउनु पर्ने बताएका छन् । सांसद् बसुन्धरा हुमागाईले बजेट अभावका कारण प्रदेश सरकारले धेरै सहयोग गर्न नसके पनि स्थानीय सरकार र जिल्ला विपद् ब्यवस्थापन समितिले गरेको कामको प्रसंशा गर्नु भयो । सांसद् गोमा भुर्तेलले भईरहेको कार्यको प्रसंशा गर्दै पैदलयात्रुहरुको तत्काल ब्यवस्थापन गर्न आग्रह गर्नु भयो ।
नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले पैदलयात्रुको सम्बन्धमा राजधानीमा रहेका नगरपालिकाका प्रमुखहरुको तत्काल बैठक राख्न र गृहमन्त्रालयले सहजीकरण गर्न अनुरोध गर्नुभयो । राहत वितरणमा सरकारको नीति ब्यवहारीक नभएको बताउँदै नगर प्रमुख ब्याञ्जुले स्थानीय सरकारसँग तत्कालका लागि बजेट नभएको बताउनु भयो । समन्वय प्रमुख उद्धव केसीले जिल्लामा भएका गतिविधिप्रति सन्तुष्टि जनाउँदै स्वास्थ्य सामाग्री अभाव भएकाले तत्काल ब्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अझै मास्क उपलब्ध गराउन नसकिएको प्रति समन्वय प्रमुखले ध्यानाकर्षण गराउनु भएको थियो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले आरडीटी परिक्षण जिल्लाका भुम्लु गाउँपालिका बाहेक सबै स्थानीय तहमा चैत्र महिनामा विदेशबाट फर्किएकाहरुको हकमा सम्पन्न भएको बताउनु भयो । जिल्लाका ५७ जना ब्यक्तिहरुको स्वाब परिक्षण गरिएको छ । प्रदेश र संघ सरकारले आरडीटी परिक्षणका लागि जिल्लालाई ७ सय किट पठाएको छ । अब फागुन महिनामा विदेशबाट स्वदेश आउनेहरुको परिक्षण गरिनेछ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जिल्लामा क्वारेन्टाईन, आईसोलेसन, आपूर्ति ब्यवस्थापन, कृषि सामाग्री आयात तथा निर्यात, अत्यावश्यक सामाग्रीको अभाव हुन नदिन गरिरहेका प्रयास, बजार अनुगमन, लकडाउन उल्लंघन गर्ने सवारी तथा ब्यक्ति गरी १ हजार ५५ लाई कारवाही गरिएको बारेमा जानकारी गराउनु भयो । स्वास्थ्य सामाग्री अभाव भएको बताउँदै तिमल्सिनाले महामारी फैलन नदिन स्थानीय सरकारले गरेको तयारी प्रशंसनीय भएको बताउनु भयो । बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु विष्णु दल गणका गणपति सुबास खड्का, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, प्रहरी प्रमुख एसपी रवि पौड्याल, सशस्त्र प्रहरी प्रमुख एसपी पुरुषोतम थापा, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, धुलिखेल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तारानाथ शर्मा, राष्ट्रिय अनुसन्धान प्रमुख सरोज निरौला, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, धुलिखेल अस्पतालका डा. सुमन ताम्राकार लगायतको सहभागिता रहेको थियो । अधिकांश सहभागीहरुले पैदलयात्रुको ब्यवस्थापन, जिल्लामा विपद्मा परेका ब्यक्तिहरुको उद्धार राहत, कृषि क्षेत्रको समस्यामा ध्यान दिन आग्रह गरेका थिए ।
त्यस्तै काभ्रेका १३ वटै स्थानीय तहका प्रमुखहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गरिरहेको बताएका छन् । जिल्ला विपद् ब्यवस्थापन समितिद्वारा कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा भएको प्रगतिको समीक्षा गर्न आयोजित भिडियो संवादमा पालिका प्रमुखहरुले आफ्नो स्थानीय तहमा भएका प्रगतिबारे जानकारी गराएका हुन् । उनीहरुले क्वारेन्टाइन तयारी अवस्थामा राखिएको, आरडिटी परिक्षणलाई तिव्रता दिइएको, विभिन्न मुलुकबाट आउनेहरुलाई उच्च निगरानीमा राखिएको, विपन्न तथा गरिव परिवारलाई राहत वितरण गरिएको लगायतका विषयलाई प्रगतिको रुपमा देखाएका छन् । यस्तै सरकारले गरेको लकडाउनका कारण कृषकहरु मारमा परेको भन्दै पालिका प्रमुखहरुले कृषकको समस्या समाधानका लागि पनि आग्रह गरेका छन् । खेतीपाती गर्ने मुख्य समयमा मल र विउको अभावमा उत्पादन घट्ने र लागत समेत नउठ्ने गुनासो कृषकले गरेका उनीहरुले बताएका थिए । भिडियो संवादमा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले कोरोना भाइरस विरुद्धको लडाइमा विजय प्राप्त गर्न सबै पक्षसँगको सहकार्य जरुरी रहेकोमा जोड दिएका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले काभ्रेमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेको तयारी उत्कृष्ट रहेको बताएका छन् । उनले कृषकको समस्या समाधानका लागि पहल भइरहेको र त्यसलाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता समेत जनाएका छन् ।
भिडियो कन्फरेन्समा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, पनौतीका प्रमुख भिम न्यौपाने, नमोबुद्धका प्रमुख टिपी शर्मा तिमल्सिना, पाँचखालका प्रमुख महेश खरेल, बेथान्चोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, रोशीका अध्यक्ष डिबी लामा, तेमालका अध्यक्ष सलामसिं लामा, चौरीदेउरालीका अध्यक्ष दिनानाथ गौतम, भुम्लुका अध्यक्ष गुमानध्वज कुँवर, महाभारतका अध्यक्ष कान्छालाल जिम्बा, खानीखोलाका अध्यक्ष कृष्णबहादुर खुलाल, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झा, कृषि ज्ञान केन्द्रका प्रमुख डा. जनार्दन खड्का लगायतले पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।





