2026 April 22/ 03:31: 02pm

धुलिखेल/जिल्ला विपद् व्यवस्थापन समितिले तीन जना भन्दा बढी राहत बाँडदा जम्मा नहुन स्थानीय तहलाई पत्राचार गरेको छ । विपद् समितिको बैठकले कोभिडसँग सम्बन्धित राहत बाँड्दा स्थानीय तहको प्रतिनिधि, सुरक्षाकर्मी र दाता गरी तीन जना मात्र रहनुपर्ने पत्रचार गरेको हो । 
राहत बाँड्दा ठूलो संख्यामा उपस्थिती रहने र सबै दाता जम्मा भएर फोटो खिच्ने प्रतिस्पर्धा हुन थाले पछि गृह मन्त्रालयले तीन जना भन्दा बढी उपस्थिति नहुने गरी व्यवस्थापन गर्ने जिल्ला प्रशासनमा पत्राचार गरेको थियो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका तथा रोसी, खानीखोला, महाभारत, बेथानचोक, भुम्लु, तेमाल र चौँरीदेउराली गाउँपालिकामा पत्रचार गरेको जानकारी दिनुभयो । बैठकले मलबाहक सवारी साधनलाई निर्वाध रुपमा आवागमन व्यवस्था मिलाई आपूर्ती व्यवस्थालाई सहज बनाएको र ढुवानी पश्चात फर्कने खाली सवारी साधनले कुनै किसिमका पैदल यात्री तथा यात्रु बोक्न नपाउने गरी व्यवस्था मिलाएको जनाइएको छ ।