2026 April 22/ 02:42: 50pm

शारदाबतासे, काभ्रे र भ्याण्डोलमा दाताहरु सक्रिय
    शारदाबतासे/नेपाल सरकारले देशभर घोषणा गरेको लकडाउनले प्रभाव पारेको क्षेत्रका ब्यक्तिहरुलाई स्थानीय सरकारले राहत उपलब्ध गराउने क्रम तिब्र भएको छ ।
    जिल्लाका विभिन्न स्थानहरुमा स्थानीय तहहरुले आफ्नै र विभिन्न संघ संस्थाहरुको समन्वयमा राहत उपलब्ध गराएका छन् । धुलिखेल नगरपालिका वडा नम्वर १० शारदा बतासेमा ९० घर परिवारले राहत प्राप्त गरेका छन् । अध्यक्ष पुष्पराज राउतले वडा भित्र रहेका वडामै काम गरेर खाने २८ घर परिवार, बाहिर क्षेत्रबाट श्रम गरेर बसिरहेका १० परिवार, दलित समुदाय २४ परिवार, सुकुम्बासी ७ परिवार र अपाङ्गता भएका परिवार २१ गरी ९० घर धुरीलाई प्रति परिवार १० केजी चामल, एक केजी दाल, एक लिटर तेल, नुन एक प्याकेट र साबुन एउटा उपलब्ध गराईएको वडा अध्यक्ष राउतले जानकारी दिनु भयो । अध्यक्ष राउतले कोहि भोकै बस्नु नपर्ने र भोकै मर्नु नपर्ने भन्ने स्थानीय सरकारको नारालाई साकार बनाउन स्थानीय स्तरमा रहेका विभिन्न ब्यक्ति तथा समुदायहरुको पहलमा राहत उपलब्ध गराउने कार्य गरिएको बताउनु भयो । ४० परिवारका लागि आत्मज्ञान प्रचार केन्द्रले राहत सहयोग गरेको छ भने अमेरिका निवासी रिता स्टेटल्याण्डले ४१ हजार रकम उपलब्ध गराउनु भएको अध्यक्ष राउतले बताउनु भयो । 
    कार्यक्रममा वडा नम्वर ९ का अध्यक्ष बसन्त रानाभाट, वडा सचिव ईश्वर सापकोटा, नेपाली कांग्रेसका क्षेत्रिय सभापति रमेश हुमागाई लगायतको सहभागिता रहेको थियो । त्यस्तै धुलिखेल नगरपालिका वडा नम्वर ९ का २ सय ७० विपन्न तथा असाहय र एक छाक खान धौ–धौ हुने परिवारहरुका लागि वडा मार्फत राहत उपलब्ध गराएको छ । वडा अध्यक्ष बसन्त रानाभाटका अनुसार वडाका पाँच स्थानबाट राहत वितरण गरिएको छ । कार्यक्रममा समाजसेवी रामकृष्ण हुमागाई, वडा सदस्यहरु, कर्मचारीहरु, छिमेकी वडाका वडा अध्यक्ष पुष्प राउत लगायतको सहभागिता रहेको थियो । राहत वितरणका लागि ब्यवसायीहरु भक्तपुर निवासी गंगाप्रसाद सुवालले कम्तिमा ५१ हजार, महेन्द्र कटुवालले १५ हजार र राजेश महासेठले १५ हजार सहयोग रकम उपलब्ध गराउनु भएको छ । वडा नम्वर ९ भित्र रहेका विभिन्न क्षेत्र र वर्गका ब्यक्तिहरुलाई उक्त सहयोग बापतको खाद्यान्न खरिद गरी उपलब्ध गराईएको अध्यक्ष रानाभाटले जानकारी दिनु भयो । 
    सुवाल २०३६ साल देखी भक्तपुरमा पोल्ट्रि ब्यवसाय गर्दै आउनु भएको छ । उहाँले सोहि वडामा रहेका २ सय ५० घर परिवारलाई आवश्यक पर्ने चामल १० केजीका दरले उपलब्ध गराउने बताउनु भएको छ । चामल र दाल सुवालको तर्फबाट उपलब्ध हुने भए पछि वडा कार्यालयले अन्य सहयोगका लागि सोहि वडामा रहेको स्प्रिङ्ग १०० पानी उद्योगका प्रोपाईटर राकेश महासेठ र महेन्द्र कटुवालले ब्यक्तिगत १५÷१५ हजार उपलब्ध गराउने बताउनु भएको थियो । त्यस्तै समाजसेवी खड्गराज पन्तले १५ हजार र माणिकलाल श्रेष्ठले दुई हजार सहयोग गर्नु भएको अध्यक्ष हुमागाईले जानकारी दिनु भयो । त्यस्तै धुलिखेल नगरपालिका वडा नम्वर ४ को छापगाउँ, बाँसघारी, तेलाङ्गेटोल, भ्याण्डोल र वडा कार्यालय मार्फत विपन्न परिवार, ज्यालादारी, भाडामा बसी आय न्युन भएका, एकल परिवार, सुकुम्बासीहरु समेत गरी ३ सय घर परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष रविन्द्र कर्माचार्यले बताउनु भयो । प्रति परिवार १० केजी चामल, नुन, दाल, चिनी, तेल र साबुन उपलब्ध गराईएको छ । 
    उक्त सहयोगका लागि लक्ष्मण कर्माचार्य, राधाकृष्ण श्रेष्ठ, सुरेन्द्र महत र जयराम मैनालीको समुहले एक लाख, उपेन्द्र घिसिङ्गले ५० हजार, किताब सिं लामाले २५ हजार, अशोक लामाले २५ हजार, संजीव श्रेष्ठले २० हजार, नरेश शाहले २ सय ५० प्याकेट नुन र धुलिखेल उद्योग बाणिज्य संघले २ सय २५ पिस साबुन उपलब्ध गराएको अध्यक्ष कर्माचार्यले बताउनु भयो । राहत वितरण कार्यक्रममा वडा सदस्यहरु, कर्मचारीहरु र स्थानीयहरुको सहभागीता रहेको थियो । 
    धुलिखेल नगरपालिका वडा नम्वर ८ ले फुड बैक मार्फत वडामा रहेका अति विपन्न ब्यक्तिहरुका लागि राहत वितरण गर्ने भएको छ । अध्यक्ष निराजन जंगमका अनुसार फुड बैक मार्फत वितरण गरिने राहत अति विपन्न परिवारका लागि हुनेछ । त्यस्तै धुलिखेलका अन्य वडाहरुमा पनि राहत वितरण कार्य भईरहेको छ ।