स्थानीय तहहरुले संक्रमण न्यूनिकरण तथा रोकथामका लागि डिसइन्फेक्सन स्पे्र छर्किरहेका छन् । धुलिखेल, बनेपा, पनौती, मण्डनदेउपुर, नमोबुद्ध, पाँचखाल तथा गाउँपालिकाहरुले डिसइन्फेक्सन स्प्रे छर्किसकेका छन् । पाँचखाल नगरपालिकाले कोरोनाको संक्रमण न्यूनीकरण तथा रोकथामका लागि डिसइन्फेक्सन स्प्रे छर्केको छ । नगरभित्र रहेको प्रत्येक वडाको मानिसहरु जमघट हुने पाँचखाल नगरपालिका, अरनिको राजमार्गको बजार एरियाबाट स्प्रे छर्किन सुरु गरिएको नगर प्रमुख महेश खरेलले जानकारी दिनुभयो । नगर प्रमुख महेश खरेल, प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारी, वडा अध्यक्षहरु अष्टबहादुर तामाङ, हरि खतिवडा, सन्जय तामाङ, सुन्दर अधिकारी, सुन्दर तामाङ, स्थानीय कुमार लामिछने, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, स्वास्थ्य प्रमुख उज्वल अधिकारी, नगरपालिका कर्मचारी, सशस्त्र प्रहरी पाँचखाल लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पाँचखालमा रहेको सशस्त्र प्रहरीको सहयोग रहेको थियो ।
त्यस्तै बेथान्चोक गाउँपालिकाका सबै वडाहरुमा स्प्रे छर्ने काम सम्पन्न भएको छ । वडा नम्वर १ देखि ६ सम्मका सबै शहरी तथा बस्तिहरुमा स्प्रे गरिएको हो । स्थानीय राजनीतिक दल, विभिन्न संघ संस्थाको समन्वयमा उक्त अभियान शुरु गरिएको वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले जानकारी दिनु भयो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटा, वडा अध्यक्षहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा विपद ब्यवस्थापनको बैठक आयोजना गरी कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापनबाट बच्न अवलम्वन गर्नु पर्ने उपायहरुका बारेमा छलफल भएको थियो । जिल्ला विपद ब्यवस्थापन समितिको टोली प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना लगायत सुरक्षा निकायका प्रमुखहरु बेथान्चोक गाउँपालिका पुगी अनुगमन गरेको थियो । सोहि अवसरमा गाउँपालिकाले तयार गरेको क्वारेन्टाईन लगायतका बारेमा छलफल भएको थियो ।





