धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु रहेको कमाण्ड पोष्ट, स्थानीय तह तथा विभिन्न संघ संस्थाहरुले तयारी गरेका छन् । तयारीका बारेमा पछिल्लो अवस्थाको सचित्रण यस्तो छ ।
कमाण्ड पोष्ट गठन
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको संयोजकत्वमा कोभिड १९ को रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि कमाण्ड पोष्ट खडा गरिएको छ । कमाण्ड पोष्टमा प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य कार्यालय र धुलिखेल अस्पतालका प्रतिनिधिहरुलाई पनि सदस्यमा मनोनित गर्नु भएको छ । सदस्यहरुमा विष्णु दल गण धुलिखेलका प्रमुख सेनानी सुवास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्याल, सशस्त्र प्रहरी बल नेपाल १५ नम्वर गण हेडक्वाटर पाँचखालका प्रमुख एसपी पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काभ्रेका प्रमुख अनुसन्धान अधिकृत सरोज निरौला, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झा, धुलिखेल अस्पतालका डा. सुमन ताम्राकार र सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडा रहनु भएको छ । कमाण्ड पोष्टको सदस्य सचिवमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झा रहनु भएको छ ।
३५ एम्बुलेन्स तयार
जिल्लामा रहेका एम्बुलेन्सहरुको विवरण संकलन गरी तयारी अवस्थामा राखिएको छ । स्थानीय तह, अस्पताल तथा विभिन्न संघ संस्थाहरु मार्फत संचालन भएका ३५ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको हो । जिल्लामा क श्रेणीमा कुनै पनि एम्बुलेन्स छैनन् । ख श्रेणीका चार वटा र ग श्रेणीका ३१ वटा एम्बुलेन्स छन् । ति मध्ये सरकारी १७ वटा, नीजि १६ वटा र गैह् सरकारी संस्थाबाट संचालित २ वटा एम्बुलेन्स संचालन भएका छन् । सुरक्षा निकाय तथा कमाण्ड पोष्टले सबै गाउँपालिका, नगरपालिका तथा नीजि र सरकारी क्षेत्रबाट संचालन भएका एम्बुलेन्स, एम्बुलेन्सका चालक तथा अवस्थाका बारेमा समेत हाईएर्लट गराएको छ ।
३ सय २५ शैयाको क्वारेन्टाईन
धुलिखेल नगरपालिकामा सबै भन्दा धेरै ७० शैयाको क्वारेन्टाईन तयार गरिएको छ । क्वारेन्टाईनका लागि आवश्यक पर्ने सुरक्षाकर्मी, स्वास्थ्कर्मी, भान्से देखि खाद्यान्न समेत तयार गरिएको छ । त्यसको ब्यवस्थापनका लागि नगरपालिका सहितको ब्यवस्थापनमा तीन सदस्यीय समिति गठन गरिएको छ । बनेपा नगरपालिकामा ६५ बेडको क्वारेन्टाईन तयार भएको छ । पनौती नगरपालिकामा २० बेडको क्वारेन्टाईनको ब्यवस्थापन गरिएको छ । बेथान्चोक गाउँपालिकामा ८, रोशी गाउँपालिकामा १०, तेमाल गाउँपालिकामा, महाभारत गाउँपालिकामा १० र चौरीदेउराली गाउँपालिकामा ५ बेड क्वारेन्टाईन तयार गरिसकेका छन् । पाँचखालमा १० र नमोबुद्ध नगरपालिकाले १८ बेडको क्वारेन्टाईन तयार गरी ब्यवस्थापन गरिसकेका छन् । मण्डन देउपुर नगरपालिकामा २० वेडको क्वारेन्टाईन तयार भएको छ । स्थानीय तहहरु विदेशबाट स्वदेश फर्किसकेका नागरिकहरुको खोजी गरिरहेका छन् । सबै भन्दा धेरै हालसम्म पनौती नगरपालिकामा ९५ जना भेटिएका छन् भने मण्डनदेउपुर नगरपालिकामा ३४ जना सुचिकृत भएका छन् । जिल्लामा ३ सय १४ जनाको नाम सुचिकृत भएको कमाण्ड पोष्टका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जिल्लामा आईसोलेसन वार्ड धुलिखेल नगरपालिकमा ८ वटा र शिर मेमोरियल अस्पतालमा ५ बेडको तयार भएको छ । हेल्थ डेक्समा झण्डै ८ सय ब्यक्ति स्वास्थ्य जाँच गराई गाउँ प्रवेश गरेका छन् ।
१९ स्थानमा हेल्प डेक्स
कोरोना भाईरसको संक्रमण रोक्न जिल्लाका ११ स्थानमा हेल्प डेक्स राखिएको छ । धुलिखेल नगरपालिका वडा नम्वर ७ को चेकप्वाईट, बनेपा नगरपालिका ८ बसपार्क, पनौती नगरपालिका ७ बसपार्क, रोशी गापा ९ मंगलटार, भुम्लु गापा ८ भुम्लुटार, महाभारत गापा ४ बुढाखानी, मण्डनदेउपुर २ नाल्दुम, वडा नम्वर १ को कात्तिके, बेथान्चोक गाउँपालिका पार्टीखर्क, मण्डनदेउपुर नगरपालिका ६ सिपाघाट र खानीखोला गाउँपालिका ६ ताल्ढुंगामा हेल्प डेक्स राखी नागरिकहरुलाई सहयोग पु¥याईएको छ । यस अघि स्थानीय तहरुले हेल्प डेक्स मार्फत गाउँ फर्किएका नागरिकहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
कमाण्ड पोष्टको सक्रियता
जिल्लामा लकडाउन कार्यान्वयन गर्न र कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाईएको छ । स्थानीय तहहरु पनि पुर्व तयारीमा जुटेका छन् । बजारमा कालोबजारी र अभाव हुन नदिन दैनिक अनुगमन भईरहेको छ । प्रहरीका सबै युनिटहरु, शशस्त्रले पनि अनुगमन गरेको छ । सेनाको टोली क्वारेन्टाईन निर्माणमा ब्यस्त छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको नेतृत्वमा सुरक्षा नियकाहरुले जिल्लाका सबै क्षेत्रमा लकडाउनको पूर्ण कार्यान्वयनमा कृयाशिल भएका छन् । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले स्थानीय तहका प्रमुखहरुसँगको समन्वयमा स्थानीय सरकारहरुले गर्ने कार्यमा समन्वयको भूमिका निभाईरहनु भएको छ ।
३ सय २१ जना सम्पर्कमा
कोरोना भाईरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउन भित्र स्थानीयहरु विभिन्न देशबाट आफ्नो गाउँठाउँमा आएकाहरुबाट त्रसित भएका छन् । फ्रान्सबाट नेपाल आईपुगेको एयरलाईन्समा सवार एक जनालाई कोरोना संक्रमण देखिए पछि त्यसमा सवार यात्रुहरुका कारण सर्वसाधारण त्रसित भएका छन् । काभ्रेमा उक्त एयरलाईन्स हुँदै ५ जना जिल्लामा आएका थिए । बनेपा नगरपालिका, धुलिखेल नगरपालिकाका स्थानीयहरुले उहाँहरुसँग भेटभाट र जमघट पनि पटक पटक भएकाले संक्रमणको आशंका गरे सँगै जिल्ला स्थित कमाण्ड पोष्ट संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले स्वास्थ्य परिक्षण गराउन आग्रह गर्नु भएको थियो । टेकु स्थित अस्पतालसँगको समन्वयमा उहाँहरुलाई कुनै प्रकारको लक्षण नदेखिएकाले घरमै क्वारेन्टाईनमा सुरक्षित रहन अनुरोध गरिएको तिमल्सिनाले जानकारी दिनुभयो । जिल्लामा विभिन्न देशबाट आउनेहरु मध्ये ३ सय २१ जना सम्पर्कमा आई स्वास्थ्य परिक्षण पश्चात घरमै क्वारेन्टाईनमा राखिएको छ । बहराईन, फ्रान्स, अमेरिका, चीन, मलेसिया, कतार, दुबई, भारत, कुवेत लगायतका देशहरुबाट नेपालीहरु फर्कने समयमा जिल्लाबासीहरु आफ्नो घरमा पुगेका छन् । विदेशबाट गाउँ फर्किएकाहरुका कारण त्रसित नहुन र उनिहरुलाई कुनै लक्षण देखिए तत्काल खवर गर्न प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनु भयो । स्थानीय सरकारले त्यस्ता ब्यक्तिहरुको अभिलेख संकलन गरिरहेको उहाँले जानकारी दिनु भयो ।
पाँच कैदी बन्दीको राय माग
जिल्ला कारागार कार्यालय काभ्रेले सर्वाेच्च अदालतको आदेश अनुसार मुलुकी संहिताको दफा ५१ अनुसार पहिलो पटक कसुर गरी एक वर्ष वा सो भन्दा कम सजाँय पाई कारागार रहेका कैदी बन्दीहरुको हकमा कैद भुक्तान बाँकी अवधीको जरिवना राजश्व असुल गरी जिल्ला अदालतको इजलासमा पेश गरेको छ । कारागार कार्यालय काभ्रेका प्रमुख जेबी राईका अनुसार जिल्ला कारागार कार्यालयमा उक्त मापदण्ड अनुसारका ५ जना कैदी बन्दी छन् । जसका बारेमा जिल्ला अदालतमा फाईल पेश भएको छ । जिल्ला अदालत काभ्रेका जिल्ला न्यायाधीश पुरुषोतम ढकालले कारागार कार्यालय काभ्रेबाट पेश भएका कैदी बन्दीहरुको फाईलमा सरकारी वकिल कार्यालयको राय माग गर्ने आदेश भएको छ । सम्भवत सरकारी वकिल कार्यालयको राय आए लगत्तै उनिहरुलाई के गर्ने भन्ने सम्वन्धमा अदालतको इजलाशले निर्णय गर्ने न्यायाधीश ढकालले बताउनु भयो ।
जिल्ला कारागार कार्यालय काभ्रेको क्षमता ७५ मात्रै हो । तर कारागारमा अहिले २ सय ३७ कैदीबन्दी छन् । १९ जना मानसिक रोगका कैदीबन्दी रहेको जेलर राईले बताउनु भयो ।





