2026 April 22/ 12:49: 35pm

बनेपा/सरकारले सोमबार चैत्र १० गते देखि उपत्यका भित्रने र बाहिरिने सवारी साधनहरुमा रोक लगाए पछि घर फर्कने लागेको परिवारलाई मिनी ट्रकले ठक्कर दिँदा घटनास्थालमै दुई जनाको निधन भएको छ भने एकजना घाईते भएका छन् । 
अरनिको राजमार्ग अन्र्तगत बनेपा नगरपालिका वडा नम्बर १३ स्थित भैसेपाटीमा बनेपाबाट साँगा जाँदै गरेको बा ५ ख २३९० नम्बरको आइचर ट्रक र काठमाडौंबाट उदयपुर तर्फ जाँदै गरेको बा ५७ प ७२८ नम्वरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार बाबु र छोराको मृत्यु भएको छ भने श्रीमती घाईते हुनु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका वडा न ४ का ३५ बर्षीय मीनबहादुर श्रेष्ठ र उहाँका ५ बर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले आइतबार विहान साढे ६ बजे दुर्घटना भएको जानकारी दिनु भयो । घाईते सुमिता श्रेष्ठको बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । सुमिता मृतक मिनबहादुरको श्रीमती हुनुहुन्छ । उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । ट्रक चालक रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ७ का ३३ बर्षीय लक्ष्मीनारायण श्रेष्ठ र ललितपुर हात्तिवन बस्ने गाडी साहु गंगा तिमिल्सिनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिनु भयो । 
त्यस्तै चैत्र १० गते दिउँसो काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्वर ५ वालुवा स्थित भित्री सडक खण्डको उकालो बाटोमा सञ्जीवनी कन्ट्रक्सन कम्पनीको ट्याक्टर रोकि राखेको अवस्थामा ट्याक्टरमा चढी खेल्ने क्रममा ट्याक्टर आफैं गुडी ब्याक भई ट्याक्टरमा चढी खेली रहेका बच्चाहरु मध्ये काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्वर ५ बस्ने बर्ष ५ का सम्राट चौलागाईलाई चक्काले किची घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिनु भएको छ । 
चैत्र १० गते नै काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्वर ५ स्थित ५३ किलोमा  अरनिको राजमार्ग सडक खण्डमा काठमाण्डौतर्फबाट दोलखा जिल्ला जाँदै गरेको बा २० च ७७८७ नम्वरको बोलेरो गाडी र प्रदेश नम्वर ३–०१–०२३ च २१४० नम्वरको स्कारपियो गाडी एक आपसमा ठक्कर खाई सवारी दुर्घटना हुँदा बोलेरो गाडी सडकबाट तल खस्दा बोलेरोमा सवार चालक सहित १४ जना घाईतेहरुलाई प्रहरी चौकी पाँचखाल र दोलालघाटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उद्दार गरी उपचारको लागि धुलिखेल अस्पतालमा पठाईएको थियो । घाईते मध्ये जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नम्वर ५ बस्ने बर्ष ६२ की बाल कुमारी आचार्यको उपचारको क्रममा मृत्यु भएको र अन्य घाईतेहरुको उपचार भईरहेको स्करपियो चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिनु भयो ।