2026 April 22/ 12:34: 23pm

    जनमत वाङ्मय प्रतिष्ठान नेपालले तेह्र वाङ्मयसेवीहरुलाई विभिन्न विधाका स्रष्टाका रुपमा सम्मान गर्ने घोषणा गरेको छ । 
जनमत वाङ्मय प्रतिष्ठानले रविकिरण ‘निर्जीव’, चितवनलाई ‘दीपा–जनमत सम्मान’, राजा शाक्य, काठमाडौं (नेपालभाषा साहित्य) का लागि ‘गणेश÷खिलकुमारी दुवाल–जनमत सम्मान’, शेषराज सिवाकोटीलाई भाषा–साहित्य अभियन्ताका रुपमा ‘हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान’ ले सम्मानित हुने भएको छ । यसैगरी कवि टङ्क उप्रेतीलाई ‘जनमत–जनक सेवा सम्मान’, वरिष्ठ कथाकार भागिरथी श्रेष्ठलाई ‘केवलपुरे–जनमत सम्मान’, कथाकार रीता ताम्राकार, सुनसरीलाई ‘कमला सैंजु–जनमत सम्मान’, वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई ‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’ र यसैगरी कवि सोमकाजी शाक्यलाई ‘जनमत–राजभाइ सहयात्री सम्मान’, साहित्यिक पत्रकार लक्ष्मी भट्टराईलाई ‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’, बालसाहित्यकार यशु श्रेष्ठलाई ‘जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान’ ले सम्मानित हुने भएको छ । 
    यस वर्षदेखि विभिन्न ३ विधाका ३ जना वाङ्मयसेवीहरुलाई धर्म संस्कृतिका मुकुन्दप्रसाद उपाध्यायलाई ‘जनमत–सिचि धर्म÷संस्कृति सम्मान’, अनुवादक रामबहादुर पहाडीलाई ‘जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’ र वरिष्ठ चिकित्सक तथा लेखक डा. राजेन्द्र कोंजूलाई ‘जनमत–वैद्य दीपकराज कायस्थ स्वास्थ्य सम्मान’ प्रदान गर्न लागेको हो । वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले उक्त सम्मान २०७६ चैत २९ गते बनेपामा हुने भएकोमा कोरोना भाइरसको महामारीको संभावना हुने डरको कारणले उक्त कार्यक्रम हाललाई स्थगित गरिएको छ । उक्त कार्यक्रम हुने मिति पछि टुङ्गो लगाई सूचना प्रवाहित हुने जनाइएको छ ।