पाँचखाल/प्रजातन्त्र सेनानी स्व.रत्नप्रसाद लामिछानेको निधन भएको १३ औं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
रत्नप्रसाद लामिछाने प्रतिष्ठानले पाँचखालमा आयोजना गरेको श्रद्धाञ्जली सभामा रत्नप्रसाद लामिछानेले देखाएको बाटोमा हिड्नुपर्ने सहभागी बक्ताहरुले बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले निरङ्कुश, सामाजिक कुप्रथा, राणा शासनको अन्त्यको लागि लाग्नुभएको स्व. लामिछाने निष्ठा विचारको राजनीतिमा अग्रभागमा रहनुभएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यले निष्ठा, मुल्यको यात्रामा हिड्नुहुने स्व. लामिछाने धेरैको प्रेरणा भएको बताउनुभयो । नेपाली काँग्रेसका नेता तथा स्व.लामिछानेका सहपाठी इन्द्रमणी अधिकारीले लामिछाने अधिकार कसरी बचाउने, मान्छे मान्छे भएर हिड्न सिकाउने एक योद्धा रहेको बताउनुभयो । नेपाली काँग्रेस काभ्रेका उपसभापति अच्युत पौडेलले आफुलाई स्व. लामिछानेले राजनैतिक यात्रामा धेरै कुरा सिकाउनुभएको बताउनुभयो । पाँचखाल नगरका उपप्रमुख लक्ष्मी दनुवारले सधै राम्रो काम गर्न झकझकाउनुहुने लामिछाने जहिल्यै जनताको काममा लाग्नुपर्छ भनेर प्रेरणा दिने नेता भएको बताउनुभयो । पाँचखाल नगरका प्रवक्ता संञ्जय तामाङले प्रतिष्ठान सञ्चालनको लागि भन्दै १० हजार सहयोग गर्नुभएको थियो । पाँचखाल वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारीले स्व. लामिछानेले नगरबाट पाउने कुुनै सुविधा नलिनु भएको जानकारी दिनुभयो । वृद्धभक्ता समेत नलिएका स्व. लामिछानेले आफुलाई समेत सधै झकझक्याउने अधिकारीले बताउनुभयो ।
कार्यक्रममा राजनैतिक विश्लेषक नरेन्द्र जंग पिटर, पाँचखाल नगरका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारी, समाजसेवी रबिन्द्र शिपखान, शिक्षासेवी रामशरण लुईटेल, पूर्व गृहसचिव जनार्दन नेपाल, प्रतिष्ठानका सचिव ओम प्रकाश लामिछाने, डा. भरत लामिछाने लगायतले स्व. लामिछानेले पुर्याउनु भएको योगदान बारे चर्चा गर्नुभएको थियो । सावित्री लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा अप्सरा ढुंगानाले लामिछाने सँग सम्बन्धित कविता बाचन गर्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष नन्दप्रसाद लामिछानेले गर्नुभएको थियो ।





