2026 April 22/ 12:35: 14pm

आमा छोरीलाई टिपरले किच्दा ११ घण्टा कर्फ्यु
पनौती/पनौतीमा सोमबार टिपरले किचेर मारेका आमा छोरीका आफन्तले क्षतिपूर्ति भन्दा चालकलाई कानुन अनुसारको कडा कारवाहीको माग गरेका छन् । प्रशासनले प्रतिवद्धता जनाएसँगै शव परिक्षण गरिएको छ । पीडितका श्रीमान मलेसियाबाट बुधबार ११ बजे नेपाल फर्किए लगत्तै शव बुझेर अन्त्येष्टि गरिने सहमति भएको छ । 
यसअघि विभिन्न स्थानमा भएका दुर्घटनाहरुमा पीडितका आफन्तहरुले रकम बार्गेनिङ्ग गर्दै कानुनी कारवाहीमा लचकता अपनाउने गरिएको थियो । पनौतीमा भएको घटनामा पीडितका आफन्तले कानुन बाहेकको क्षतिपूर्तिमा ध्यान नदिई कानूनी कारवाहीको माग गरेका हुन् । ‘मान्छे मारे पछि क्षतिपूर्ति लिएर चालकलाई उन्मुक्ति दिने कुराको अन्त्य गर्ने प्रस्ताव पीडितका तर्फबाट आयो’–नेकपा नेता तथा खानिखोला गाउँपालिकाका इन्द्रबहादुर थिङ्ग ‘छिन्ताङ्क’ ले भन्नुभयो–‘पीडितको माग अनुसार प्रशासनले कारवाही गर्ने र कानुन अनुसारको क्षतिपूर्ति ब्यवसायीले उपलब्ध गराउने सहमति पश्चात शव बुझ्ने निर्णय भएको हो ।’ पीडितका श्रीमान क्षिरिङ्ग भोलोनले मलेसियाबाट फोन गरी क्षतिपूर्ति नभई चालकलाई कडा कारवाही गर्न अनुरोध गर्नु भएको थियो । प्रशासनले पीडितका नाममा स्थानीयहरुले गरेको आन्दोलनले उग्र रुप लिएपछि लगाएको कफर््यु हटाउने विषयमा छलफल गरिरहेको जानकारी दिएको छ । कर्फ्युका कारण पनौती क्षेत्र भित्रका सबै विद्यालयमा कक्षा ८ को नगर स्तरीय र अन्य केहि विद्यालयमा अन्य तहको परीक्षा समेत हुन सकेन । पनौतीबाट खोपासीतर्फ जादै गरेको बा.५.ख ५४८० नम्बरको टिपरको ठक्करबाट पनौती बसपार्कमा खानीखोला १ निवासी २६ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरी स्मारिका भोलोनको मृत्यु भएको थियो ।  
‘साथीहरुलाई जोगाउँदा गोली खाएँ’
टिपरको ठक्करबाट आमा छोरी दुवैको ज्यान गए पछि पनौती नगरपालिकामा स्थानीयहरुले शुरु गरेको आन्दोलनमा प्रहरीले सोमबार राति चलाएको गोलीका कारण प्रहरी नै घाईते भएका छन् । आन्दोलनकारीहरुले लगातार ढुंगा, सिसीका बोतल प्रहार गरी घाईते बनाएपछि प्रतिरक्षाका लागि प्रहरीले अश्रुग्याँस र हवाईफायर गरेको थियो । घटनामा प्रहरीतर्फ ६ जना घाईते भए भने सर्वसाधारण तीनजना गम्भिर भए । गम्भिर मध्येका प्रहरी हवल्दार दिलिप बुढाथोकीको पातोमा लागेको छर्राले उहाँ ढल्नु भयो । प्रहरी गुल्म पनौतीमा कार्यरत बुढाथोकी दोलखा घर भई १८ वर्ष देखि प्रहरी सेवामा कार्यरत हुनुहुन्छ । ‘निरन्तर आन्दोलनकारीले सिसीका बोतल र ढुंगामुढा प्रहार गरिरहे मैले बचाईरहें तर आन्दोलनकारीको तर्फबाट पौने ८ बजे प्रहार भएको आएको गोलीले म ढलें’–हवल्दार बुढाथोकीले भन्नुभयो–‘उठाउने कोहि भएन, घिस्रिँदै बसपार्कको भित्तामा रहेको मन्दिर नजिकै पुगें, हातले गोलीको छर्राको प्वाल थुनें हात नै भित्र पस्यो । म आत्तिएँ । बाटोमा हिडिरहेका मान्छेको टोपी मागेर प्वाल टाँलें । केहि क्षण पछि मात्रै मलाई अस्पताल लैजान सम्भव भएछ ।’ 
    बुढाथोकीको शरीरमा लागेका २६ वटा टुक्रा सोमबार राति नै निकालिएको छ भने केहि अझै बाँकी छ । उनीसँगै शिर मेमोरियल अस्पताल बनेपामा ईन्द्रेश्वर माविको कक्षा १२ मा अध्यनरत १९ बर्षिय जिवराज तामाङ उपचारार्थ छन् । उनको दाहिने खुट्टामा प्वाल परेको छ । घाईते मध्ये हर्कबहादुर तामाङ र चितवन घर भई पनौतीमा बस्दै आएका साजन चौधरीलाई थप उपचारका लागि शिक्षण अस्पताल पठाईएको छ । प्रहरीका सई विरेन्द्रप्रसाद शाह, हवल्दार मिनबहादुर थापा र जवान लालबहादुर थापा मगर उपचार पछि रिहाई भएका छन् । आन्दोलनकारीहरुले मध्यरातसम्म प्रर्दशन गरेका थिए । प्रशासनले स्थिति नियन्त्रण बाहिर जान थालेपछि मंगलबार विहान ९ बजे देखि अनिश्चितकालिन कफ्र्यु जारी गरेको थियो । 
    पनौतीबाट खोपासीतर्फ जादै गरेको बा.५.ख ५४८० नम्बरको टिपरको ठक्करबाट खानीखोला १ निवासी २६ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरी स्मारिका भोलोनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । छोरीलाई टिपरले ठक्कर दिए पछि बचाउने क्रममा आमालाई पनि ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । उपचारको लागि शिर मेमोरियल अस्पताल ल्याईएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । खानीखोलास्थित कालिका प्राविको प्रधानाध्यापक रहेकी गोले विरामी भए पछि जचा“उनको लागि बुबासँगै पनौती आएकी थिइन् । बुबा घर बनाउने सामान लिन र उनी जचाँउन आउँने क्रममा विदेशमा रहेका श्रीमान क्षिरिङ्ग भोलोनले पठाएको १ लाख १८ हजार रुपैयाँ बैकबाट निकालेकी थिईन् । दुर्घटना पश्चात उनको साथमा रहेको उक्त रकम पनि फेला परेको छैन । 
    पनौती क्षेत्र हुँदै दैनिक ५ सय भन्दा धेरै टिपरहरु संचालन हुँदै आएका छन् भने काभ्रेमा दैनिक १ हजार ५ सय टिपरहरु चल्ने गरेका छन् । पनौती क्षेत्रमा स्थानीयहरुले रातिको समयमा टिपर संचालनमा रोक लगाएका छन् । टिपर चालक रोशी गाउँपालिका ६ का नवराज थापा र टिपर प्रहरी नियन्त्रणमा छन् । पीडितका आफन्त र प्रशासन बीच चालकलाई कानुन अनुसार कडा कारवाही गर्ने सहमति पश्चात शव बुझ्ने विषयमा छलफल भएको थियो । मृतकका जुनिमाया गोलेका देवर पेशल भोेलोनले ईलाका प्रहरी कार्यालय बनेपामा किटानी जाहेरी दिएका छन् । 
११ घण्टा पछि हट्यो कर्फ्यु
    प्रहरी र स्थानीय बीचको झडपमा प्रहरी सहित केहि स्थानीय घाईते भए पछि प्रशासनले विहान ९ बजे देखि लगाएको कर्फ्यु ११ घण्टा पछि राति ८ बजे हटाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले स्थिति विश्लेषण गरेर राति ८ बजे कर्फ्यु हटाउने निर्णय लिएको बताउनु भयो । कर्फ्यु क्षेत्रमा प्रहरीले गरेको कडाईका कारण स्थानीय औषधी पसलहरु समेत बन्द भएका थिए । विरामीहरुले औषधी समेत खरिद गर्न नपाएको गुनासो गरेका छन् ।