2026 April 22/ 12:34: 22pm

बेथान्चोक, महांकालस्थान/बेथान्चोक गाउँपालिका वडा नम्वर ३ को वडा कार्यालय र स्वास्थ्य चौकी निर्माणका लागि शिल्यान्यास भएको छ । 
गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले भवन निर्माणको शिल्यान्यास गर्नु भएको थियो । गाउँपालिकाको आफ्नै र वडा कार्यालयहरु निर्माणका लागि स्थानीय तहले प्रयास गरिरहेको अध्यक्ष तिमल्सिनाले बताउनु भयो । नागरिकहरुलाई सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्ने उद्देश्यले चालु आर्थिक वर्ष भित्रै सबै वडाका कार्यालयहरु निर्माण गरिसक्ने अध्यक्ष तिमल्सिनाले बताउनु भयो । वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले नागरिकहरुको सेवालाई प्रभावकारी बनाउन वडा कार्यालयसँगै स्वास्थ्य चौकी समेत निर्माण शुरु गरिएको बताउनु भयो । शिल्यान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, इन्जिनियर ज्ञानु तिमल्सिना लगायतको सहभागिता रहेको थियो । वडा कार्यालयले खरिद गरेको २ रोपनी ६ आना जग्गामा उक्त भवनहरु निर्माण हुँदैछन् । असार मसान्त भित्रै वडा कार्यालय निर्माण सम्पन्न गर्ने गरी कार्य शुरु गरिएको वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले बताउनु भयो । वडा कार्यालय २ तल्लाको पक्की भवन निर्माण हुनेछ । ६५ लाख रुपैयाँमा निर्माण हुने उक्त भवनका लागि जिल्ला समन्वय समिति काभ्रे र स्थानीय सरकारको ५०÷५० प्रतिशत अनुदान उपलब्ध भएको छ । 
त्यस्तै स्वास्थ्य चौकी भवन निर्माणका लागि ३३ लाख रुपैयाँ विनियोजन भएको छ । जिल्ला समन्वय समिति काभ्रे र स्थानीय सरकारको ५०÷५० प्रतिशत अनुदानमा निर्माण उक्त भवन पनि असार मसान्त भित्रै निर्माण कार्य सम्पन्न हुनेछ । बेथान्चोक गाउँपालिकाको वडा नम्वर १ र वडा नम्वर ४ मा भवन निमार्ण भईरहेको छ भने वडा नम्वर ५ को मर्मत गरिएको छ । वडा नम्वर २ र ६ को आफ्नै भवन छ ।