2026 April 22/ 12:49: 45pm

बनेपा/समाज र राष्ट्रलाई योगदान दिन पहिले ब्यक्ति स्वस्थ हुन अनिवार्य रहेको निश्कर्ष सहित बागमती प्रदेश सरकारले जिल्ला आर्युर्वेद स्वास्थ्य केन्द्रहरु मार्फत प्रदेशमा कार्यरत ट्राफिक प्रहरीहरुलाई नश्यकर्म अर्थात प्रदूषणबाट हुने स्वास्थ्य समस्या न्यूनिकरण कार्यक्रम शुरु भएको छ । 
    शनिबार बनेपामा जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरुलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनिकरण गर्न नश्यकर्म संचालन गरेको छ । कार्यक्रमको बागमती प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले उद्घाटन गर्नु भएको छ । परापूर्वकालदेखी आयुर्वेदको विश्वास गरिदै आएको अवस्थामा प्रविधिले यसको प्रयोगमा कमी आए पनि विस्तारै पुनः यसको प्रयोग र विश्वास बढ्दै गएको प्रदेश सभा सदस्य हुमागाईले बताउनु भयो । रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदका औषधीहरु प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । स्थानीय स्तरमा पाईने जडिबुटीहरुका थुप्रैखालका फाईदा भए पनि उपभोगमा विश्वास नगर्ने चलन बढेको बताउँदै उहाँले आयुर्वेदको धनी मुलुक नेपाललाई यसको प्रयोग र उपभोगले धनी बनाउनु पर्ने उहाँले बताउनु भयो । आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा. मनोजकुमार चौधरीले आयुर्वेदसँगै थेरापी नश्यकर्मले ब्यक्तिलाई स्वस्थ बनाउनु पर्ने बताउनु भयो । दैनिक नश्यकर्म गर्दा ब्यक्तिको निरोगिताको शक्ति बढ्ने भएकाले दैनिक नश्यकर्म गर्दा ब्यक्ति स्वस्थ हुन सक्ने बताउनु भयो । आयुर्वेद स्वास्थ्य केन्द्रले पोषण सम्बन्धी औषधी, स्तनपाई आमालाई दुध बढाउने खालका आयुर्वेदिक, पञ्चकर्म, चुँडाकर्म, तनाव ब्यवस्थापनका लागि निशुल्क योग, थेरापी लगायतका सेवा प्रदान गरिरहेको उहाँले बताउनु भयो । 
    कार्यक्रममा डा. सुवास घिमिरेले ट्राफिक प्रहरीलाई योग अभ्यास र योग प्रशिक्षण दिनु भएको थियो । नश्यकर्मका बारेमा लामो समय आर्युवेदमा संलग्न ब्यक्तिहरुले प्रशिक्षण दिनु भयो । प्रशिक्षणबाट ट्राफिक प्रहरीहरु सडकमा खटिरहँदा हुने प्रदु्रषणबाट बच्ने उपायका बारेमा बताईएको थियो । कार्यक्रमबाट सेवा र जिम्मेवारीसँग सुरक्षित रहने तरिकाका बारेमा जानकारी प्राप्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक विशाल लामाले बताउनु भयो । ट्राफिक प्रहरी कार्यालय काभ्रेले विभिन्न संघ संस्थासँगको समन्वयमा चालकहरुको स्वास्थ्य परिक्षण, चालकहरुलाई सचेतना मुलक प्रशिक्षण तथा विविध कार्यहरु गरिरहेको प्रहरी निरिक्षक विशाल लामाले बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्ष बलराम अधिकारी, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रका रमेश पनेरु, कृष्णप्रसाद पराजुली लगायतले आर्युवेदले दिएका सेवा र प्रभावकारीताका बारेमा मन्तब्य राख्नु भएको थियो । जिल्लामा दरबन्दी अनुसार ट्राफिक प्रहरीहरु कार्यरत नरहे पनि २० जना ट्राफिक प्रहरीलाई नश्यकर्म सम्वन्धी तालिम प्रदान गरिएको छ ।