2026 April 22/ 12:49: 35pm

निःशुल्क शिविर र मास्क वितरण
बनेपा/ईलाका प्रहरी कार्यालय बनेपाले सर्वसाधारणहरुमा नोभल कोरोना भाईरसका बारेमा जानकारी गराउँदै सचेतना अभियान संचालन गरेको छ । कोरोना भाईरसका लक्षण र बच्ने उपायका बारेमा पर्चा वितरण गर्दै प्रहरीले निःशुल्क मास्क वितरण गरेको हो । दुई दिन आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका निमित्त प्रमुख किशोरकुमार दाहाल लगायतको सहभागिता रहेको थियो । 
    ‘नागरिकहरुलाई सचेत गराउने उद्देश्यले नोभल कोरोना भाईरसका बारेमा जानकारी गराउँदै पर्चा र मास्क वितरण गरिएको हो’–ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो –‘बनेपा हेल्थ केयरको सहयोगमा निःशुल्क सुगर र प्रेसर जाँच समेत गरिएको छ ।’ बनेपा हेल्थ केयरको टिमले आईतबार विहान देखि नै चारदोबाटो चोकमा सर्वसाधारणको सुगर र प्रेसर निशुल्क जाँच गरिरहेको छ । कोरोना भाईरसबाट बच्न र रोग लागि देखिएमा फैलन नदिन सोहि अवसरमा नागरिकहरुलाई सचेतना फैलाईएको छ । 
    प्रहरीले विभिन्न संघ संस्थाको सहयोगमा निशुल्क मास्क र शिविर राख्न थालिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे, स्वास्थ्य कार्यालय काभ्रे, बनेपा हेल्थ केयर प्रा.ली, काभ्रे उद्योग बाणिज्य संघ, क्लिन सिटी प्रालि, रेडक्रस बनेपा लगायतले कोरोना विरुद्धको प्रहरी अभियानलाई साथ दिईरहेका छन् । जिल्लामा रहेका धुलिखेल, शिर मेमोरियल अस्पतालले कोरोना संक्रमित विरामीहरुका लागि आईसोलेसन वार्डको तयारी गरेका छन् । स्थानीय तहहरुले समेत कोरोना विरुद्ध लड्न तयारी गरेका छन् । 
बनेपा हेल्थ केयरले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रमा निःशुल्क शिविर आयोजना गरेको जानकारी दिएको छ । शिविरमा सुगर जाँच, ब्लड प्रेसर जाँच, स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको छ । ट्राफिक प्रहरी कार्यालय बनेपा र अन्य निकायहरुसँगको समन्वयमा शिविरहरु आयोजना गरिएको प्रालीका जितेन्द्र थापाले बताउनु भयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिना, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक विशाल लामा, काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलाञ्चोके, वडा अध्यक्ष वर्ण शाक्य लगायतको सहभागिता रहेको थियो । सहभागीहरुले ब्यक्तिगत स्वास्थ्यमा ध्यान दिन अनुरोध गरेका थिए ।