पनौती/पनौती नगरपालिकामा संचालन भएका विद्यालयहरु अध्ययन गर्ने कक्षा ८ का विद्यार्थीहरुका लागि आधारभुत तह उर्तिण परिक्षा फागुन २८ गते बुधबार देखि शुरु भएको छ ।
उक्त परिक्षाका लागि केन्द्राध्यक्ष अभिमुखिकरण र परीक्षा सामाग्री वितरण मंगलबार सम्पन्न भएको छ । परीक्षामा नगरपालिका भित्रका २१ वटा सामुदायिक र संस्थागत १६ वटा गरी ३७ वटा विद्यालयका ५ सय १८ छात्र र ५ सय ३ छात्रा गरी १ हजार २१ विद्यार्थी सहभागि हुनेछन् । उक्त कक्षाको परीक्षाका लागि विगत वर्षहरुमा केन्द्रगत रुपमा संचालन गरिएको भए पनि यस वर्ष शिक्षा मन्त्रालयले कोरोना भाईरस संक्रमणबाट बच्न चैत्र ५ गते भित्र कक्षा १० सम्मको परीक्षा सक्न निर्देशन दिएकाले केन्द्रगत कायम नगरी सोहि विद्यालयहरुमा संचालन गर्न लागिएको पनौती नगरपालिकाका उप सचिव मधुसुदन अधिकारीले जानकारी दिनु भयो । परिक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली, गणित, विज्ञात तथा वातावरण, सामाजिक तथा जनसंख्या शिक्षा, स्वास्थ्य तथा शारिरिक र नैतिक शिक्षा, पेशा, ब्यवसाय र प्रविधी शिक्षा र अन्तिम दिन ऐच्छिक विषयको परिक्षा हुने उप सचिव मधुसुदन अधिकारीले जानकारी दिनु भयो । परिक्षा शनिबार पनि संचालन हुनेछ । चैत्र ५ गते सम्पन्न हुने गरी परिक्षाको तालिका सार्वजनिक गरिएको हो । सामुदायिक तर्फ कुशादेवी मावीमा सबै भन्दा धेरै ६४ जना, भालेश्वर मावीमा ५२ जना विद्यार्थी छन् भने सबै भन्दा कम फुल्चोकी आधारभुत विद्यालयमा ३ जना, कमलादेवी मावीमा ४ जना, ग्रामोदय आधारभुत विद्यालयमा ७ जना र श्वेतगणेश आधारभुत विद्यालयमा ८ जना रहेका छन् । संस्थागत तर्फ सबै भन्दा धेरै काभ्रे इङ्गलिस मावीमा ७२ जना रहेका छन् । ज्ञानज्योती एजुकेशनल एकेडेमीमा २ जना विद्यार्थीले कक्षा ८ को परिक्षा दिदैछन् । छात्रा भन्दा १५ जना छात्रहरु कक्षा ८ मा धेरै छन् ।
जिल्लाका अन्य विद्यालयहरुमा पनि परीक्षा चैत्र ५ गते अगावै सम्पन्न गर्ने गरी तालिका प्रकाशन गरी परीक्षा शुरु गरेका छन् । एसईई परीक्षा चैत्र ६ गते देखि शुरु हुनेछ ।





